रेमिट्यान्सको वृद्धिदर २ प्रतिशत मात्रै |
काठमाडौं । आर्थिक वर्ष २०७६∕७७ को साउन महिनामा ७५ अर्ब ४० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले दिएको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नगन्य वृद्धि हो ।
आव २०७५∕७६ को साउन महिनाको तुलनामा जम्मा २ प्रतिशतले मात्रै रेमिट्यान्स बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर ३३.१ प्रतिशत थियो । दशैको महिनालाई रेमिट्यान्सको मूख्य सिजन मानिन्छ ।
वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिट्यान्स पनि घटेको नेपाल राष्ट्र बैंकले बताएको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३०.८ प्रतिशतले घटेको थियो । पुनː श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१ प्रतिशतले बढेको थियो ।