वैदेशिक रोजगार व्यवसायी संघमा विष्णुप्रसाद गैरेको समुह विजयी |
काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् ।
यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो । मंगलबार काठमाडौंको बौद्धस्थित होटल हायातमा भएको साधारणसभामा कुल ६१९ मत खसेकोमा अध्यक्षमा विजयी गैरेले ३३० मत पाए । पराजित पोखरेलले २८३ मत पाए । ६ मत भने खाली थियो ।
संघको पूर्व उपाध्यक्षसमेत रहेका गैरे नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन् ।
साधारणसभाबाट वैदेशिक रोजगार व्यावसायी संघको प्रथम उपाध्यक्षमा लोकतान्त्रिक समूहकै कमल तामाङ विजयी भएका छन् । तामाङले निकटतम प्रतिस्पर्धी हरिबहादुर पाण्डेलाई १५१ मत अन्तरले पराजित गरे ।
यसैगरी महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भएका छन् । गुरुङ सबैभन्दा बढी १६८ मतअन्तरले विजयी भएकी हुन् ।
सदस्यहरुमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई र लक्ष्मण पौडेल विजयी भएका छन् ।