निजगढ विमानस्थल निर्माणका लागि ज्यूरिच एयरपोर्ट इन्टरनेशनल छनौंट |
काठमाडौं । सरकारले निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी –पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई छनौंट गरेको छ ।
प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको बैठकले स्वीजरल्याण्डको कम्पनी ज्यूरिच छनौंट गरेको हो । निजगढ विमानस्थल बनाउन आशयपत्र पेश गरेका सात वटा कम्पनीमध्ये ज्यूरिच छानिएको हो । यो विमानस्थल बनाउन चीन, भारत र फ्रान्सको कम्पनीले ईच्छा देखाएका थिए ।
‘निजगढ विमानस्थल परियोजना सार्वजनिक निजी साझेदारीमा विकास गर्नका लागि आशयपत्र पेश गरेका कम्पनीहरु मध्ये तोकिएको मापदण्ड पूरा गरेको ज्यूरिच एयरपोर्ट इन्टरनेशनल एजी संक्षिप्त सूचीमा समावेश गर्ने निर्णय भएको छ’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यो निर्णयपछि कम्पनीले प्राविधिक तथा वित्तिय प्रस्ताव पेश गर्नेछ। कम्पनीले पेश गरेको प्राविधिक र वित्तिय प्रस्तावका आधारमा विमानस्थल निर्माणको जिम्मा दिइनेछ ।
बोर्ड स्रोतका अनुसार यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्चमा नेपाल भ्रमणमा आएका थिए।उनले त्यही बेलामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग समेत भेटेका थिए ।
प्रारम्भिक छनौंट
बोर्डले सोमबार गरेको निर्णय प्रारम्भिक चरण हो । यो चरणपछि कम्पनीले बोर्डसँग विभिन्न चरणको छलफलपछि मात्रै निर्माणमा पुग्छ । सबै प्रकृया पूरा गरेर यो विमानस्थल निर्माणको जिम्मा पाएमा पीपीपी मोडलमा पूर्वाधार निर्माणको काम पाउने पहिलो कम्पनी हुनेछ ।
पीपीपी मोडलमा कम्पनीले निर्माण, संचालन र निश्चित अवधिमा सरकारलाई हस्तान्तरण गर्नेछ । यो मोडल अन्तर्गत आयोजना निर्माण भए निर्माणकर्ताले निर्माण अवधिसमेत गरी ३० वर्ष आयोजना सञ्चालन गर्छ र चालु आवस्थामा आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ । कम्पनीले निर्माणको लागत र मुनाफा तय गरेर सरकारसँग नेगोसिएसन गर्छ ।