नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता, ४२ महिनामा तयार हुने |
काठमाडौं । बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङ माग निर्माणको लागि सोमबार एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको हो ।
सम्झौतामा नेपालका तर्फबाट विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका तर्फबाट हिरोसेकले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम आजको मितिदेखि ४२ महिनामा जापानीज कम्पनीले सुरुङमार्ग तयार पारेर नेपाललाई हस्तान्तरण गर्नुपर्नेछ ।
निर्माण कम्पनीसँग सम्झौता भएको भएपनि निर्माणको काम भने दशै तिहारपछि मात्रै शुरु हुने छ । सम्झौता भएको २८ दिनमा कार्यादेश दिईनेछ । यो अवधीमा निर्माण कम्पनीले साईटमा क्याम्प राख्र्ने, निर्माण उपकरणहरु ल्याउने, डिपिआर अध्ययन गर्ने, योजना बनाउने, लगायतका आयोजना पुर्व तयारीका कामहरु गर्नेछ ।
यो सुरुङमार्गमा कामदारभन्दा पनि उच्चतम प्रविधिका उपकरणहरु प्रयोग गरेर निर्माण गरिने निर्माण कम्पनीका प्रतिनिधीहरुले बताएका छन्। मेसिन बेस भएर यो सुरुङमार्ग निर्माण हुनेछ ।
थापाका अनुसार विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा भए अनुसार सुरुङमार्गको क्यारिज वे ९.५ मिटरको हुनेछ । ३.५ र ३.५ मिटरका दुईवटा लेन हुनेछन्। जसमा सवारीसाधन हिड्नेछन्। वीचमा मेडियन हुनेछ । दुईपट्टी सोल्डर रहनेछ ।
सुरुङमार्गसँगै समानान्तर हुने गरि स्केप्ट टनेल निर्माण हुनेछ । जुन प्रत्येक २ सय ५० मिटरमा मुख्य सुरुङमार्गसँग भित्र बाहिर गर्न मिल्ने गरि जोडिनेछ । भित्र दुर्घटना भए वा समस्या आए बाहिर निस्कनका लागि प्रयोग हुनेछ । एम्वुलेन्स समेत सहजै हिड्न सक्ने गरि स्केप्ट टनेल निर्माण हुनेछ ।
सुरुङमार्ग थानकोटस्थित नेपाल आयल निगमको डिपो नजिकैकको किसिपढी खोल्सीदेखि सिस्नेखोलामा निर्माण हुने छ । यसको लम्बाइ २.७ किमीको हुनेछ । पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क निर्माण हुनेछ भने पुर्व तर्फ २ हजार ३ सय ७ मिटरको लिङ्क सडक निर्माण हुनेछ ।
सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछ । सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण हुने थापाले जानकारी दिए । सिस्नेखोलातिर ४४ रोपनीमा सर्भिसिङ स्टेशन, चमेना गृह, फ्युल स्टेशन, रिफ्रेसमेन्ट सेन्टर, स्थानीय उत्पादित सामाग्रीहरु प्रदर्शन गर्ने स्थल लगायतका संचरना निर्माण हुनेछ ।
सुरुङमार्गको प्रवेश मार्ग छेउमा मेन्टनेन्स विल्डिङ समेत बन्ने छ । यसले सुरुङमार्ग मर्मत र कुनै समस्या आए हेर्नेछ । संगै टोल गेट समेत निर्माण हुनेछ । जसबाट सुरुङमार्गमा आवतजावत गर्दा शुल्क उठाईने छ । शुल्क कति हुने भन्ने तोकिएको भने छैन्।
असारमै शिलान्यास गरेर निर्माण थाल्ने योजना थियो, तर साईट क्लियर, मुआब्जा वितरण लगायतका विषयहरु टुङग्याउन समय लागेपछि झण्डै पाँच महिना ढिला गरि आयोजनाको काम सुरु हुन लागेको हो ।
संशोधित सार्वजनिक खरिद नियमावली अनुसार आयोजना पुर्व तयारी र साईट क्लियर नगरी ठेक्का लगाउन पाईँदैन । आयोजनाको पुर्व तयारी गर्दा केहि ढिला हुन गएको नागढुङगा नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।
परियोजनाको धादिङतर्फ मुआब्जा विवाद भएको थियो। व्यक्तिका नाममा नभएका जग्गाहरुको विवाद मिलेपनि गुठी र लालपुर्जा नभएका जग्गाहरुको समस्या निस्किएको थियो। आयोजनाका अनुसार धादिङतर्फ कुल १ सय ९ रोपनी अधिग्रहण गरिनेछ । जसमा सुरुङमार्गसम्म पुग्ने पहुँचमार्ग र संरचनाहरु निर्माण हुनेछन्। ती समस्या समेत हल हुने चरणमा पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाले निकालेको अन्तरराष्ट्रिय वोलपत्रमा ४३ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये ६ वटा अन्तरराष्ट्रिय कम्पनी प्राविधिक पास भएका थिए ।
जसमा सबैभन्दा उत्कृष्ट जापानी कम्पनी ठहरिएको महाशाखाले जनाएको छ । कुल लागत २२ अर्वमध्ये सहुलियत ऋण सहयोग १६ अर्व हुनेछ भने नेपाल सरकारले आफ्नो स्रोतबाट ६ अर्व व्यहोर्ने छ ।
१६ अर्वको ०.०१ प्रतिशत नेपालले ब्याज तिर्नुपर्नेछ । जापानीज कम्पनीसँग साढे १३ अर्व रुपैयाँमा सम्झौता भएको हो । बाँकी रकम मुआब्जा लगायतका खर्च भैरहेको आयोजनाले जनाएको छ ।