पर्यटक बढाउन चिनियाँ भाषामा वेबसाइट |
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो वेबसाइट चिनियाँ भाषामा पनि सञ्चालनमा ल्याएको छ । उक्त वेबसाइटको उद्घाटन सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेका हुन् ।
नेपालमा रहेका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने उद्देश्यले उक्त साइट सञ्चालनमा ल्याएको बोर्डले बताएको छ । उक्त साइटको सञ्चालनले चिनियाँ पर्यटकको संख्या बढाउन सहयोग गर्ने बोर्डको अपेक्षा छ ।
सो अवसरमा पर्यटनमन्त्री अधिकारीले नेपालमा पछिल्लो समय चिनियाँ पर्यटकको संख्यामा निरन्तर वृद्धि भइरहेको अवस्थामा यस वेबसाइटले चिनियाँ पर्यटकलाई थप आकर्षण गर्ने बताए । उनले भने, ‘नेपाल आउने चिनियाँ पर्यटकलाई अन्तरक्रियात्मक बनाई यहाँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गतिविधिबारे जानकारी गराउन यो वेबसाइट उपयोगी हुनेछ, यसले चिनियाँ पर्यटक बढाउन सहयोग पुग्नेछ ।’ उनले सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक पु¥याउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन पनि यो अभियानले सहयोग गर्ने धारणा राखे ।
पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले चीनबाट विगत १० वर्षमा पर्यटक आगमन संख्या बढिरहेकाले उनीहरूलाई अझ घुलमिल बनाउने उपयुक्त माध्यम चिनियाँ वेबसाइट हुने विश्वास व्यक्त गरे । उनले नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्दो रहे पनि लक्ष्यमा पुग्न चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्न आगामी दिनमा चिनियाँ भाषामा मोबाइल एपलगायत सामग्री समेत बनाइने जानकारी दिए ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई छिमेकी मुलुकको जनस्तरको सम्बन्धलाई बलियो बनाउन तथा पर्यटनको माध्यमबाट आर्थिक सामाजिक साझेदारी अभिवृद्धि गर्न चिनियाँ वेबसाइट उपयोगी हुने बताइन् ।
वेबसाइटमा नेपालका प्रमुख पर्यटकीय क्षेत्रका आकर्षक तस्वीर र जानकारी समावेश गरिनुका साथै महत्ववपूर्ण धार्मिक स्थल, मठमन्दिर, हिमाल र नदीहरू समावेश गरिएको छ । यस्तै, भिडियोमा सातओटै प्रदेशका पर्यटकीय क्षेत्रको तस्वीर र विवरणका साथै ती स्थानमा पुग्ने यातायात, सञ्चारलगायतको जानकारी दिइएको छ ।