पूर्वाधार सम्मेलन आजदेखि काठमाडौंमा हुँदै, लगानी बोर्डले २१ परियोजना शोकेस गर्ने |
काठमाडौं । नेपाल उद्योग परिसंघले भदौं २५ र २६ गते काठमाडौंमा पूर्वाधार सम्मेलन गर्ने भएको छ । सम्मेलनमा लगानी बोर्डको २१ र प्रदेशस्तरका ८२ वटा आयोजना शोकेस गरिने परिसंघले जनाएको छ ।
ठूला आयोजना मात्रै शोकेसमा राख्दा साना लगानीकर्ता निरुत्साहित भएको भन्दै सबै आयोजना शोकेस गर्न लागेको हो । परिसंघका अध्यक्ष सतिश मोरले विदेशी लगानीको न्यूनतम सीमा बढाइएकोले त्यही आधारका आयोजना राखिने जानकारी दिए ।
करिब ५०० जना लगानीकर्ता सहभागी हुने कार्यक्रमलाई अर्थ, ऊर्जा, उद्योग र पूर्वाधार मन्त्रीले सम्बोधन गर्नेछन्। तेस्रोपटक आयोजना गर्न लागिएको पूर्वाधार सम्मेलनमा सरकार आफैं आयोजक बनेको र लगानी बोर्ड सहआयोजक भएकोले विगतका वर्षको भन्दा सफल हुने अध्यक्ष मोरले दावी गरे ।
सडक, सार्वजनिक यातायात, विमानस्थल, होटल तथा रिसोर्ट, अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, प्राविधिक शिक्षा, जलविद्युत लगायतका आयोजना सम्मेलनमा राखिने छन् ।