प्रोपर्टी एक्स्पो–२०१८ असार १ देखि |
काठमाडौं (आपास) । काठमाडौंमा घरजग्गा मेला ‘प्रोपर्टी एक्स्पो–२०१८’ को आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आगामी असार १ देखि ५ गतेसम्म सातौं घरजग्गा मेलाको आयोजना हुने भएको हो ।
वैज्ञानिक, व्यवस्थित एवम् सुरक्षित जग्गा विकास तथा शहरीकरणमा महत्वपूर्ण योगदान पुर्याइरहेका व्यवसायी र उपभोक्तालाई एकै थलोमा भेला गराउन र नयाँ नेपाल निर्माणमा योगदान पुर्याउने उद्देश्यले उक्त मेलाको आयोजना गरिएको आयोजकको भनाइ छ ।
आयोजकका अनुसार मेलामा इच्छुक सहभागीले आफ्नो उत्पादन तथा सेवाहरूको शुरुआत गर्न चाहे त्यसको व्यवस्थासमेत गरिएको छ । सुरक्षित एवम व्यवस्थित बसोबासको विकास र मूल्य प्रतिस्पर्धामार्फत उचित मूल्यमा घरजग्गा तथा अपार्टमेण्ट विक्री सम्बन्धमा एकै थलोबाट विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ । मेलामा घरजग्गासम्बन्धी कानूनी, प्राविधिक र वित्तीय परामर्शसमेत उपलब्ध गराइने बताइएको छ । यस पटकको मेलामा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ । गत वर्षजस्तै यस वर्ष पनि असार ४ र ५ गते नेपालमा दोस्रो पटक हाउजिङ समिटको समेत आयोजना हुन गइरहेको छ । यस बर्ष आयोजना गरिने हाउजिङ समिटले आवास निर्माणको क्षेत्रमा नयाँ आयाम थप्ने आयोजकको दाबी छ ।
यस पटकको प्रोपर्टी एक्स्पोमा स्वदेशी तथा विदेशी प्रदर्शक तथा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति रहने आयोजकले बताएका छन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्री उत्पादक तथा विक्रेता, इञ्जीनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्याण्टका साथै बैङ्क र बीमा कम्पनीको समेत सहभागिता रहनेछ । साथै, मेलामा विद्युतीय सामग्री, फर्निचर, पाइप, सेनेटरी वायर्स, पेण्ट्स, सवारीसाधन, सजावटका सामग्रीमा संलग्न व्यवसायीको पनि उपस्थिति रहनेछ ।