ओली र मोदीद्वारा पेट्रोलियम पाइपलाइनको संयुक्तरुपमा उद्घाटन | प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम नेपाल भित्रिन शुरू
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीद्वयले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन काठमाडौं र दिल्लीबाट संयुक्त रूपमा बटम थिचेर गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट मंगलबार एकसाथ बटम थिचेर उद्घाटन गरेका हुन् ।
उद्घाटनलगत्तै बरौनी डिपोबाट अमलेखगञ्जमा डिजेल आउने र सो डिजेल भारतीय आयल निगमका पदाधिकारीले नेपाल आयल निगमका निर्देशक सुरेन्द्र पौडेललाई उपहारस्वरुप हस्तान्तरण गरेको नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए । डिजेल हस्तान्तरण पछि नेपाल र भारतका प्रधानमन्त्रीले क्रमशः ५∕५ मिनेट मन्तव्य राखेका थिए ।
भारत सरकारको २ सय ७५ करोड लगानीमा सम्पन्न सो पेट्रोलियम पाइपलाइन आयोजना नेपाल सरकारको पहिलो प्राथमिकताको आयोजना हो ।२०६१ मा नेपाल र भारत सरकारबीच सम्झौता भएर २३ फागुन २०७४ मा निर्माणा कार्य शुरू भएको सो आयोजना निर्धा्रित समयभन्दा ८ महिना अगाडि सम्पन्न भएको हो ।
पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ७० किलोमिटरमध्ये भारततर्फ ३२.५ किलोमिटर तथा नेपालतर्फ ३७.५ किलोमिटर छ । उद्घाटनलगत्तै पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।
पाइपलाइन आयोजनाकै लागि निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्कीसमेत निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक २ अर्ब बचत हुने र यसबाट वातावरण प्रदूषण, वन विनाश, राजमार्गमा हुने दुर्घटना, ट्राफिक जाम, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने प्रमुख इन्जिनियर यादवले जानकारी दिए ।