डेंगी पहिचान गर्न किटमा मात्रै भर नपर्न महाशाखाको आग्रह |
काठमाडौं । देशका विभिन्न ठाउँमा डेंगीको प्रकोप देखिएपछि स्वास्थ्य संस्थाहरूबाट अध्याधिक मात्रामा र्यानपिड डायनोस्टिक टेस्ट किट (आरडिटी) को माग भइराखेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किटमा मात्रै भर नपर्न आग्रह गरेको छ ।
मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखले डेंगी निदानका लागि अस्पतालहरूबाट किट माग भइराखेको उल्लेख गर्दै ज्वरो आएको विरामीमा पनि किटको प्रयोग हुने गरेको बताएको छ ।
‘राष्ट्रिय तथा अन्तरराष्ट्रिय विज्ञहरूबाट डेंगी रोगको शंका लागेका विरामीहरूको जाँचका लागि (आरडीटी)उपर्युक्त र आवश्यक नहुने राय प्राप्त भएको छ,’ महाशाखाले निकालेको सूचनामा, ‘चिकित्सकको सल्लाह बमोजिम सेतो रगत सेल गणना, प्लेटलेट गणना र हेमाट्रोक्रिट परीक्षण गरी रोगको निदान र व्यवस्थापन गर्नु गराउनु हुन अनुरोध छ,’ भनिएको छ ।
काठमाडौं उपत्यका, चितवन, मकवानपुर, कास्की, सुनसरीलगायत जिल्लामा लामो समयदेखि देखिएको डेंगी अझै नियन्त्रणमा आउन सकेको छैन । डेंगी संक्रमणबाट चितवन, सिन्धुपाल्चोकमा विरामीको मृत्यु पनि भइसकेको छ । कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगी देखिएपछि उपचारत छन् ।
डेंगी खासगरी एडिस एजिप्टाई जातको लामखुट्टेको पोथीले टोक्दा लाग्ने गर्छ ।