टेलिकमले शुरु गर्यो महेन्द्रनगरमा पनि एफटीटीएच सेवा |
काठमाडौं । नेपाल टेलिकमले महेन्द्रनगरमा फाइबर टु द होम (एफटीटीएच) सेवा सुरु गरेको छ । टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवा संचालनमा ल्याएको हो ।
क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सेवा शुरु गरे । प्रबन्ध निर्देशक अधिकारीले नयाँ प्रविधि शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै नयाँ ग्राहकहरुलाई बधाइ दिए । क्षेत्रीय निर्देशक न्यौपानेले एफटीटीएच जडानका लागि आवश्यक सीपीई (कस्टमर प्रिमिसेज इक्विपमेन्ट) वितरण गरे ।
हाल महेन्द्रनगरमा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट)को १ हजार २४ लाइन एफटीटीएच वितरण क्षमता छ । टेलिकमले यो मध्ये ७ सय ६८ लाइन तत्काल वितरण गर्न सकिने जनाएको छ । महेन्द्रनगरको बजार क्षेत्रमा गल्ली नम्बर १ देखि ४ सम्म एफटीटीएच हाल उपलब्ध रहेको र थप ७ वटा एफडीसी जडान गरी शहरमा विस्तार गर्ने कम्पनीले जनाएको छ ।
टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । योजना अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध गराएको छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर फाइबर निːशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।