किसान माइक्रोफाइनान्स र स्पर्सले घोषणा गरे बोनस शेयर |
काठमाडौं । किसान माइक्रोफाइनान्सले २४ प्रतिशत बोनस शेयर दिने भएको छ । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सलाई हकप्रद शेयर निष्काशन गर्न कडाइ गर्दै गर्दा संस्थाले बम्पर बोनस शेयर दिने भएको हो ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि नगद लाभास सहित चुक्ता पूँजीको २४ प्रतिशत बोनस शेयर घोषणा गरेको हो । संस्थाको हालको चुक्ता पूँजी ८ करोड ६० लाख रुपैयाँ छ । दुई करोड ६ लाख रुपैयाँको बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० करोड ६६ लाख रुपैयाँ पुग्ने छ ।
संस्थाले गत आर्थिक वर्षमा दुई करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्ष बोनस शेयर ५० प्रतिशत हकप्रद शेयर र ३०.५३ प्रतिशत बोनस शेयर वितरण गरे पछि प्रतिशेयर आम्दानी खुम्चिएको थियो । पूँजी बढेसँगै संस्थाको लाभांस दर पनि घटेको छ । दुई वर्ष अगाडि संस्थाको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ थियो ।
त्यस्तै स्पर्स लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयरको घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले ०.६८ प्रतिशत नगद लाभांस सहित १३.६८ प्रतिशत लाभांस दिने निर्णय गरेको हो ।
संस्थाको हालको चुक्ता पूँजी ८ करोड २९ लाख रुपैयाँ छ । एक करोड ७ लाख रुपैयाँ बोनस शेयर वितरण पछि चुक्ता पूँजी ९ करोड ३६ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा संस्थाले एक करोड ५६ लाख रुपैयाँ नाफा गरेको थियो। गत आर्थिक वर्षबाट नाफामा देखिएको संस्थाले पहिलो पटक लाभांस दिने भएको हो ।