दसैंतिहारका लागि भदौ २३ देखि सहुलियत पसल सञ्चालन आउने |
काठमाडौं । सरकारले नजिकिँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षितगर्दै सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
आगामी भदौ २३ देखि उक्त पसल सञ्चालनमा आउने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
महानिर्देशक गौचनले दशैँ, तिहार तथा छठका समयमा उपभोक्तालाई केही सजिलो होस् भनेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताए । सुपथ मूल्य पसलमा बजारमा प्रचलित मूल्य भन्दा २ देखि ५० रूपैयाँसम्म छुट दिइने छ ।
उनका अनुसार विभागले चामल मोटामा प्रतिकिलो ५ रुपैयाँ, मसिनोमा प्रतिकिलो १० रुपैयाँ, गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ र खसीबोका र च्यांग्रामा किलोको १० रुपैयाँ छुट प्रस्ताव गरेको छ ।
त्यस्तै, नुनमा २ रूपैयाँ र घिउमा ५० रूपैयाँ छुट दिइन प्रस्ताव गरिएको छ । सरकारले निजी क्षेत्रलाई पनि चाडपर्वका बेला केही छुट दिन आग्रह गरेको छ ।
काठमाडौं उपत्यका र उपत्यकाभन्दा बाहिर शाखा कार्यालयका आउटलेटमा सुपथ मूल्य सञ्चालन हुने छ ।
उनका अनुसार खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
विभागका अनुसार ती सुपथ मूल्य पसल भदौ २३ देखि छठसम्म चल्नेछ ।