त्रिभुवन विमानस्थलको क्षमता विस्तार आयोजनाबाट एडीबीको बर्हिगमन |
काठमाडौं । ऋण सम्झौता भएको १० वर्षसम्म पनि काम नभएपछि विमानस्थल क्षमता विस्तार आयोजनाबाट एसियाली विकास बैंक बाहिरिएको छ । बैंकले पुरानो ऋण सम्झौता नवीकरण नगरेपछि उक्त आयोजनाबाट बाहिरिएको हो । सन् २००९ मा ऋण सम्झौता भएको उक्त आयोजनामा खासै काम नभएपछि लामो समयदेखि बैंकले समस्याग्रस्त आयोजनाको सूचीमा राख्दै आएको थियो ।
सन् २०१८ मै ऋण सम्झौता सकिएको उक्त आयोजनाको मुख्य लगानीकर्ता बाहिरिएपछि फेरि फर्काउने प्रयास भने सरकारले जारी राखेको छ ।
पुरानो सम्झौता खारेज भएपछि नयाँ सम्झौताका लागि गृहकार्य भइरहेको उक्त आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिए ।
’अहिले उक्त आयोजनामा एडीबीको फन्डिङ छैन । तर नयाँ सम्झौता गरेर नयाँ मोडालिटीबाट फन्डिङ ग्यारेन्टी गर्ने गृहकार्य भइरहेको छ,’ पौडेलले भने,’हामिले २०१८ बाटै नयाँ सम्झौताको तयारी शुरु गरेका छौ । सम्भवतस् यही वर्ष्भित्र नयाँ सम्झौता हुन्छ होला ।’
उक्त आयोजनामा एडीबीले ८ करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सन् २०१६ मा सम्पन्न हुनुपर्ने आयोजनाको अहिलेसम्म कुनै पनि उल्लेख्य काम अघि बढ्न सकेको छैन ।
सन् २०१३ मार्च १६ मा स्पेनको सान्जोसे कम्पनीसँग तीन वर्षमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । आयोजना सम्पन्न गरिसक्नुपर्ने समय सन् २०१६ सम्म जम्मा १६ प्रतिशत काममात्र गरेपछि नागरिक उड्डयन प्राधिकरणले ठेक्का सम्झौता रद्द गरेको थियो ।
सम्झौता रद्द भएको तीन वर्षसम्म ठेक्का गर्न नसकेपछि एडीबीले असन्तुष्टि व्यक्त गर्दै आएको थियो । सान्जोसेसँग ठेक्का रद्द भएपछि प्राधिकरणले चारवटा प्याकेज बनाएको थियो । जसमा तीन वटाको टेन्डर भइसकेको छ भने मुख्य काम रहेको अन्तिम प्याकेजको टेन्डर हुनसकेको छैन ।
ऋण सम्झौता भंग भएपछि भएका टेन्डरमा लगानी जुटाउने सम्बन्धमा प्राधिकरणले कुनै प्रतिक्रिया दिएको छैन । २०७३ मंसिरमा सान्जोसेसँग ठेक्का रद्द भएपछि विभिन्न प्याकेजमा स्वदेशी कम्पनी पनि सहभागी हुनेगरी टेन्डर गर्ने प्राधिकरणले योजना बनाएको थियो ।
सोही योजनाअनुसार अन्तरराष्ट्रिय टर्मिनल भवनको क्षमता विस्तार, र टर्मिनल भवनभित्रको युटिलिटीको काम गर्न स्वदेशी कम्पनीले ठेक्का पाएर काम गरिरहेका छन् । त्यस्तै दक्षिणतिर ३ सय मिटर धावन मार्ग विस्तारको काम पनि टेन्डर भएको छ ।
चिनियाँ कम्पनीले जिम्मा पाएको उक्त धावनमार्ग विस्तारको अझैसम्म शुरू भएको छैन । विमानस्थलमा यात्रु क्षमता थेग्न नसक्ने टर्मिनल भवन, पर्याप्त पार्किङ वे नभएको भन्दै एसियाली विकास बैंकको ऋण सहयोगमा विमानस्थलको क्षमता विस्तार आयोजना अगाडि बढाइएको थियो ।
धावन मार्गसँगै समानन्तर ट्याक्सी वे बनाउने, १९ वटा पार्किङ वे बनाउने, टर्मिनल भवनको क्षमता विस्तार गर्ने उक्त आयोजनाको उद्देश्य रहेको थियो ।
जहाज होल्ड हुने मुख्य कारण मध्येको एक पार्किङ वे अभाव हो, त्यस्तै धावनमार्ग बराबरको समानन्तर ट्याक्सी वे नहुँदा उडान तथा अवतरणले समय बढी लिने गरेको प्राविधिकहरूले भनाइ छ ।
यस्ता पूर्वाधार निर्माण भएपछि हालको भन्दा २० देखि ३० प्रतिशत ट्राफिक क्षमता बढ्ने अधिकारीहरूको अनुमान छ । यो कामका लागि अब नयाँ डिजाइन बन्ने छ ।