ह्याकरले १३ वटा बैंकका एटीएमबाट चोरेको ठहर, साढे तीन करोड निकालियो, फरेन्सिक जाँच शुरु |
काठमाडौं । नेपाली बैंकका एटीएम सिस्टममा मालवेयर आक्रमण गरेर चिनियाँ ह्याकरको गिरोहले साढे तीन करोड रुपैयाँ चोरेको ठहर भएको छ । नेपाल राष्ट्र बैंकले एटीएम लूट प्रकरणको अध्ययनका लागि गठन गरेको समितिले १३ वटा बैंकका एटीएम बुथबाट ३ करोड ५८ लाख रुपैयाँ चोरेको ठहर गरेको हो ।
बुधबार अध्ययन प्रतिवेदन बुझाउँदै समितिले कुन बैंकको कति रकम चोरियो भन्ने विवरण तयार पारी बुझाएको छ । तर कसरी प्रणली ह्याक गरियो र रकम चोरियो भन्ने बारे भने प्रतिवेदनमा नखुलाइएको जनाइएको छ । यसबारे विज्ञहरु झिकाएर थप अनुसन्धान सुरु गरिएको छ । बुधबार रातिदेखि नै घटनाको फरेन्सिक अनुसन्धान सुरु गरिएको नेपालमा एटिएम सेवा दिँदै आएको ‘नेप्स’ले जनाएको छ । यसका लागि सिंगापुरदेखि विज्ञको टोली झिकाइएको छ ।
यद्यपि कसरी ह्याक भयो र रकम लुटियो भन्नेबारे बताउन त्यति सहज नहुने देखिन्छ । फरेन्सिक अनुसन्धानबाट पनि ह्याकर पहिचान गर्न र कसरी ह्याक भयो भन्ने प्रमाण जुटाउन गाह्रो हुने विज्ञहरु बताउँछन् । नेपालमा साइबर सुरक्षामा लगानी मात्रै होइन प्रविधि र विज्ञको समेत पर्याप्तता नहुँदा चुनौतीहरु थपिँदै गएका छन् ।
शनिबार नेपालका विभिन्न एटिएमबाट ठूलो मात्रामा रकम चोरी भएको थियो । चोरीमा संलग्न ५ चिनयाँ नागरिकलाइ सनिबार नै पक्राउ गरिएको थियो भने आइतबार १ चिनिया मूलका फ्रान्सेली नागरिक भाग्दै गर्दा विमानस्थलबाट समातिएका थिए ।