तीजका अवसरमा मेरी होम मन्टेश्वरीद्वारा महिलाहरुमा हुने तनाव व्यवस्थापन तथा सौन्दर्य सम्बन्धि जानकारी |
काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा चन्द्रागिरी–१५ तिनथानामा रहेको मेरी होम मन्टेश्वरी प्रि–स्कुल तथा टिचर्स टेनिङ्ग सेन्टरले महिलाहरुमा हुने तनाव व्यवस्थापन सम्बन्धि परामर्श तथा सौन्दर्य सचेतना सम्बन्धि कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले आफ्ना विद्यार्थीहरुका महिला अभिभावकलाई परामर्श प्रदान गरेको हो ।
उक्त अभिभावक परामर्श कार्यक्रममा सहभागी भएका महिला अभिभावकलाई तनाव व्यवस्थापन सम्बन्धि परामर्श मनोविज्ञ महालक्ष्मी आचार्यले दिएकी थिइन । तनावलाई व्यवस्थापन गर्न सकेमा मानव जीवन सुखमय हुने उनको भनाई थियो । बाह्य सुख खोज्नु र पारिवारिक व्यवस्थापन गर्न नसक्नुका कारण मानव जीवन दुːखद बन्ने गरेको उनको भनाई थियो । उनले सहभागि लाई तनाव व्यवस्थापनसँग सम्बन्धित योग अभ्यास पनि गराएकी थिइन । शिविरमा १०० जनाभन्दा बढि अभिभावकहरु सहभागी रहेका थिए ।
त्यस्तै कार्यक्रममा सौन्दर्यविज्ञ रुपा भट्टले सौन्दर्यमा कसरी निखार ल्याउने भन्ने जानकारी दिएकी थिइन । सबैमा आफ्नो अनुहार सुकोमल होस् भन्ने चाहना हुन्छ भन्दै भट्टले चम्किलो र सफा छाला कसरी प्राप्त हुन्छ भन्ने जानकारी दिएकी थिइन् । सो अवसरमा नैकाप मल्टिस्पेयसियटी पोलिक्लिनिकद्वारा निːशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।
महिलाहरुको तनाव ब्यवस्थापन तथा सौन्दर्य सम्बन्धि कार्यक्रमको आयोजनाले महिला अभिभावकहरुमा सकारात्मक सन्देश प्रवाह हुने विद्यालयका अध्यक्ष सविता बस्नेत दानीले बताइन् । ‘महिलाहरुले बाहिरी सुन्दरताका साथै आन्तरिक सुन्दरतालाई पनि उत्तिकै महत्वका साथ हेर्नु पर्छ’, उनले भनिन, ‘आजकाल महिलाहरूमा हुने राम्रा गुणलाई सुन्दरतासँग गाँसेर परिभाषित गरिन्छ ।’
कार्यक्रममा अभिभावकहरु बिच नृत्य प्रतियोगिता गराइनुका साथै दर समेत खुवाइएको थियो । नृत्य प्रतियोगितामा दिब्या रिमाल र चन्दा पाण्डेको प्रस्तुती लाई उत्कृष्ट ठहर गर्दै पुरस्कारसमेत प्रदान गरियो ।
मेरी होम मन्टेश्वरीले विगत ७ वर्षदेखि मन्टेश्वरी माध्यमद्वारा पठनपाठन गराउदै आएको छ । साथै यसले विभिन्न तहहरुको मन्टेश्वरी ट्रेनिङ पनि प्रदान गर्दछ ।