द्रुतमार्ग निर्माण गर्न १ खर्ब ७५ अर्ब चाहिन्छ ː नेपाली सेना |
काठमाडौं । निजगढ जोड्ने द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७५ अर्ब रुपैयाँ आवश्यक पर्ने नेपाली सेनाले जानकारी दिएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार त्यति रकम लाग्ने जानकारी दिइएको हो ।
यो रकम मूल्य अभिवृद्धि करसहितको हो । ७२.५ किलोमिटरको द्रुतमार्ग निर्माणका लागि करबाहेक १ खर्ब ५५ अर्ब लाग्नेछ । यो लागत पूर्व निर्धा्रितभन्दा ३८ अर्ब बढी हो। यो रकम एशियाली विकास बैंकले प्रक्षेणभन्दा समेत बढी हो ।
परियोजनाबारे परियोजनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा लागत किन बढेको हो सेनाले चित्तबुझ्दो जवाफ दिन सकेन । परियोजना निर्माण सम्पन्न गर्न ३ वर्ष ६ महिना लाग्ने सेनाले जनाएको छ । डीपीआरअनुसार यो परियोजनाका लागि १ लाख ५१ हजार रुख काटिनेछन् ।
परियोजनाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा द्रुतमार्गको प्रस्थानबिन्दू खोकनाको रेखांकन परिवर्तन गरिने जानकारी दिइयो ।
‘श्रीकाली मन्दिरलाई संरक्षण गरी सामान्य रेखांकन परिर्वतन गरिनेछ’, पत्रकार सम्मेलनमा परियोजना प्रमुख महासेनानी शरदलाल श्रेष्ठले भने ।
डीपीआर बन्नुभन्दा अगाडि नै परियोजनाको ८ प्रतिशत काम सेनाले सम्पन्न गरिसकेको जनाएको छ । परियोजनाबारे प्रत्येक ४ महिनामा पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।