पर्यटन विभागले २२ हजार व्यवसायको जिम्मेवारी प्रदेशलाई दियो |
काठमाडौं । पर्यटन विभागले साविकमा आफू मातहत रहेका २२ हजार ३ सय ६४ पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा प्रदेशलाई हस्तान्तरण गरेको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले सम्बन्धित प्रदेशका पर्यटन मन्त्रालयका सचिवहरुलाई अभिलेख हस्तान्तरण गरेका हुन् ।
पर्यटनसँग सम्बन्धित व्यवसायको काम प्रदेश तहमा हस्तान्तरण भएपछि अब साविकमा विभागले गर्दै आएको दर्ता, नविकरण, अनुगमन, मूल्यांकनजस्ता प्रशासकीय काम अब प्रदेश मातहत गएको छ ।
संविधानले संघ, प्रदेश र स्थानीय तहका लागि छुट्याएको अधिकारक्षेत्र भित्रै रहेर साविकमा विभागले गर्दै आएका काम प्रदेश सरकारहरुसमक्ष हस्तान्तरण गरिएको महानिर्देशक घिमिरेले जानकारी दिए ।
यसरी हस्तान्तरण भएर गएका व्यवसायको काम १ असोजबाट कार्यान्वयन हुने भएको छ । प्रदेशमा यी अभिलेख अब उद्योग, पर्यटन, वन तथा वातावरण मातहत संचालन हुने छन् ।
विभागले आफू मातहत रहेका देशका विभिन्न ७ पर्यटन कार्यालयलाई प्रदेशमा हस्तान्तरण गरेको छ । विभागका अनुसार कार्यालयले प्रदेश मातहत रहि काम थालिसकेका छन् । कांकडभिट्टा (झापा), नाम्चे (सोलुखुम्बु), जनकपुर (धनुषा), विरजंज (पर्सा), भैरहवा (रुपन्देही), पोखरा (कास्की) र कोहलपुर (बाँके) बाट साविकमा भइरहेका काम प्रदेश तहमा हस्तान्तरण भएको विभागले जानकारी दिएको छ ।
पर्यटनका कुन कुन व्यवसाय प्रदेशमा पुगे ?
पर्यटकस्तरीय होटेल ː ३६१
होमस्टे ː ९२
र्या्फ्टििङ एजेन्सी ː ८५
ट्राभल एजेन्सी ː ३२६२
ट्रेकिङ एजेन्सी ː २४१७
रिभर गाइड ː २१४
ट्रेकिङ पोटर गाइड ː १७२
पर्यटन यातायात सेवा ː ७९
ट्रेकिङ गाइड ː १२९८१
टुरिष्ट गाइड ː २७०१
अब प्रदेशबाट के के काम हुनेछ ?
- ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नवीकरणलगायत कार्य
- ट्रेकिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण लगायत कार्य
- पर्यटक यातायात सेवा सञ्चालन इजाजत पत्र जारी तथा नवीकरण
- र्याटफ्टिङ एजेन्सी इजाजतपत्र जारी तथा नवीकरण
- पर्यटक स्तरीय होटेल इजाजत पत्र जारी तथा नवीकरण
- होमस्टे इजाजत पत्र जारी तथा नवीकरण
- टूर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर गाइड, रिभर गाइडको इजाजत पत्र जारी र नविकरण