पृथ्वी राजमार्गका अतिक्रमित संरचना हटाइँदै | फरकफरक सूचनाले जनता अन्योलमा
कार्यालयका अनुसार राजमार्गको केन्द्र विन्दुबाट दायाँबायाँ २५ मिटरभित्रका भौतिक संरचना, घरटहरा र कम्पाउण्ड वाल हटाइनेछ । कार्यालयका अनुसार मुग्लिङदेखि कोत्रेसम्म सडक विस्तार गर्दा २ हजार घरटहरा भत्किनेछन् । राजमार्गको आबुँखैरेनी–डुम्रे क्षेत्रमा सबैभन्दा बढी सडक अतिक्रमण भएको कार्यालयले बताएको छ ।
उता मुग्लिङ–कोत्रे सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका क्षेत्रमा भने नयाँ नियमका कारण निकै अप्ठ्यारो पर्ने स्थिति सृजना भएको छ । पुरानो नियमअनुसार नगरपालिकाले सडकबाट दायाँबायाँ ७५ फिट कायम गरी घरनक्सा पास गरेकाले सोही अनुसार उक्त क्षेत्रमा संरचना निमाृण गरिएका छन् । अहिले सडक डिभिजन कार्यालयले जारी गरेको सूचनाअनुसार ८२ फिट छोड्नुपर्ने हुन्छ । त्यसो हुँदा ती संरचनाहरू पनि पर्ने देखिएको हो ।
व्यास नगरपालिकाका पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठले नियम एउटै हुनुपर्ने प्रतिक्रिया दिँदै ८२ फिट नै छोड्नुपर्ने भए ७ फिटको क्षतिपूर्ति राज्यले व्यहोर्नुपर्ने बताए । सडक डिभिजन कार्यालयको सूचनाअनुसार तालघारेबाट चापाघाटसम्म ३ किलोमिटर क्षेत्रमा दायाँबायाँ बनेका अधिकांश घरहरू पर्ने देखिएको छ । सडक डिभिजन कार्यालय र नगरपालिकाले जारी गरेको सूचना फरकफरक हुँदा जनतामा झनै अन्योल सृजना भएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भने पहिला ७५ फिट कायम गर्ने नियमअनुसार नगरपालिकाले नक्सापास गरेको हुँदा ८२ फिट कायम गर्ने सन्दर्भमा ७५ फिट कायम गरी बनाइएका संरचना धनीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने बताउँछन् ।