स्वयम् कर घोषणामा गलत विवरण बुझाए कारबाही गरिने |
काठमाडौं । स्वयम् कर घोषणाअन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलीसरह नै कारबाही हुने भएको छ । संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण, पहिलो संसोधन विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिइएको तर त्यसमा झुटो विवरण भरेको पाईए कर छलीसरह अपराध ठहर भई कारवाही हुने बताए ।
समितिले दण्ड सजाय सम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संसोधन गर्ने तयारी गरेको छ। कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवाना सहित कैदको व्यवस्था गर्न लागिएको हो ।
बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर वापतको दण्ड सजायको मात्रा ठूलो हुँदैमा राजश्व असुली नहुने तर्क गरेका थिए ।