मालपोत कार्यालयलाई अनलाइन बनाउने काम तीव्र | .
भूमिसुधार मन्त्रालयले मालपोत कार्यालयहरूलाई अनलाइन प्रणालीमा लैजाने काम तीव्ररूपमा अघि बढाएको छ । मन्त्रालयले जग्गा प्रशासन सम्बन्धित कार्य स्वचालित गरी अनलाइनमार्फत छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन सेवा विस्तारलाई प्राथमिकतामा दिइएको बताएको छ । २ वर्षअघि काठमाडौंको कलङ्की मालपोत कार्यालयबाट शुरू गरिएको अनलाइन प्रणाली अहिले उपत्यकाभित्र र बाहिर गरी १९ ओटा मालपोत कार्यालयमा सञ्चालनमा आइसकेको छ ।
कामलाई छिटोछरितो र प्रभावकारी बनाउन लागू गरिएको अनलाइन प्रणाली पूर्णरूपमा सञ्चालन हुन भने सकेको छैन । अनलाइन प्रणालीमा जग्गा पास गरिए पनि अफलाइन रेकर्डसमेत राख्ने गरिएको छ । अनलाइनसँगै अफलाइन पनि रेकर्ड राख्ने गरिएको मालपोत कार्यालय डिल्लीबजारका प्रमुख पद्मनिधि सोतीले बताए । सबै जग्गा कम्तीमा एकपटक अनलाइन प्रणालीमा आइसकेपछि पूर्णरूपमा अनलाइन कारोबार शुरू गरिने उनको भनाइ छ ।
कागजी रूपमा जग्गाको रेकर्ड राख्दा कसैले किर्ते गर्ने सम्भावना पनि रहन्छ । तर, अनलाइन प्रणालीमा गइसकेपछि यस्तो सम्भावना कम हुन्छ । ‘अनलाइन प्रणालीमा आइसकेपछि औंठा छाप लगाउनेबित्तिकै जग्गा धनी हो या होइन, शुरूमै पत्ता लाग्छ,’ सोतीले भने, ‘त्यसैले यो प्रणालीमा कसैले पनि किर्ते गर्ने कुरा सम्भव नै छैन ।’ अनलाइन प्रणाली शुरू भएको ठाउँमा आफ्नो जग्गाको सुरक्षा गर्न चुनौती छ भने अनलाइन सिष्टममा राख्नुपर्ने उनको सुझाव छ । जग्गाको किनबेच नगरे पनि आफ्नो जग्गालाई अनलाइन सिष्टममा राख्दा सधैंका लागि सुरक्षित हुने उनको भनाइ छ ।
यसरी गरिन्छ अनलाइन जग्गा पास
अनलाइन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्थाले तमसुक (लेखापढी व्यवसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) भने लेख्नैपर्छ । मालपोत कार्यालयहरू पूर्णरूपमा अनलाइन प्रणालीमा गएपछि भने तमसुक लेख्ने झन्झटको पनि अन्त्य हुन्छ । तमसुक लेखिसकेपछि त्यसैको आधारमा अनलाइन प्रणालीमा दर्ता गरिन्छ । आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुकअनुसारको सबै विवरण अनलाइनमा प्रणालीमा राखिदिन्छन् । त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन् । मालपोत अधिकृतपछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन् । त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ । विद्युतीय औंठाछाप पनि लिइन्छ । औंठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ ।
एकपटक अनलाइनमा राखिएको डाटा अर्कोपटक किनबेच गर्दा झनै छिटो हुन्छ । अहिलेको अनलाइन प्रणालीको अफलाइन रेकर्ड पनि राख्ने हुँदा २÷३ घण्टासम्म समय लाग्छ । अनलाइनमा रखिएको डाटा अर्कोपटक किनबेच गर्दा भने १ घण्टा पनि समय नलाग्ने सोती बताउँछन् । अनलाइन प्रणालीमा काम गर्दा जनशक्ति पनि थोरै चाहिने र काम पनि धेरै छिटो हुन्छ । जग्गामा मोही लागेको छ÷छैन, हदबन्दी छ÷छैन लगायत सबै कुरा कम्प्युटरबाट तुरुन्तै थाहा पाइन सकिन्छ । यस्तै, कसको जग्गा कति छ भन्ने बारेमा पनि एकै क्लिकमा जानकारी मिल्छ ।
सरकारले देशभरका सबै मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजाने योजना अघि सारेको छ । सबै मालपोत कार्यालयमा तत्काल यो सेवा सम्भव नभए पनि भविष्यमा सबै कार्यालयमा सेवा पुग्ने बताइएको छ ।
अनलाइन प्रणालीमा गएका मालपोत कार्यालय
क्र सं मालपोत कार्यालय
१ कलङ्की
२ चावहिल
३ डिल्लीबजार
४ ललितपुर
५ भक्तपुर
६ मोरङ
७ चन्द्रगढी (झापा)
८ वीरगञ्ज (पर्सा)
९ हेटौंडा (मकवानपुर)
१० चितवन
११ धादिङ
१२ काभ्रेपलाञ्चोक
१३ पोखरा (कास्की)
१४ बागलुङ
१५ बाँके
१६ माडी (चितवन)
१७ खैरेनी (चितवन)
१८ चनौली (चितवन)
१९ शिखरकोट (मकवानपुर)