सर्वोत्तम सिमेण्टको आईपीओ आउँदै, तीन वर्षदेखि लगातार नाफामा |
काठमाडौं । तीन वर्षदेखि लगातार नाफामा रहेको सर्वोत्तम सिमेन्टले ३६ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । प्राथमिक शेयर निष्कासन गर्न कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया शुरु गरिसकेको छ ।
कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरिसकेको छ । कम्पनीले सकेसम्म चालु आर्थिक वर्ष्भित्रै शेयर ल्याउनेगरि तयारी भएको जनाएको छ । कम्पनीले भनेजस्तै प्रकृया चाँडै भएमा सिमेन्ट उद्योगमा शिवमपछि सर्वोत्तमको शेयर आउनेछ । यो कम्पनीमा सिमेन्ट र डन्डी उद्योगमा स्थापित सौरभ समूहको लगानी छ ।
कम्पनीलाई व्यवसायिक रुपमा अघि बढाउन बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालको प्लान्ट बोटलर्स नेपालमा काम गरिसकेका भरत दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पश्चिम नवलपरासीको सुनवलमा ३३ विघा जग्गामा सिमेन्ट उद्योग छ । क्लिंकरसहित दैनिक तीन हजार टन सिमेन्ट उत्पादन क्षमता छ ।
नियम अनुसार पब्लिक कम्पनी भएको एक वर्षपछि मात्रै प्राथमिक शेयर निष्कासन गर्न सक्ने छ । कम्पनीले थप प्रिमियम सहित शेयर निष्कासन गर्ने योजना बनाएको छ । धितोपत्र निष्कासन सम्बन्धी नियम अनुसार थप प्रिमियम सहित शेयर निष्कासन गर्दा अधिकतम नेटवर्थको दुई गुणासम्मको मूल्यमा निष्कासन गर्न पाउने छ ।
कम्पनीले प्राथमिक शेयर निष्कासन गरेसँगै चुक्ता पुँजी तीन अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ छ ।
गत वर्षको नाफा तथा जगेडा कोषबाट एकअर्ब १८ करोड ८० लाख रुपैयाँको बोनस शेयर दिएर संस्थापक तर्फको चुक्ता पुँजी तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कायम हुने छ । सर्वसाधारणलाई १० प्रतिशत अर्थात ३८ करोड रुपैयाँ र प्रभावित वासिन्दाका लागि दुई प्रतिशत अर्थात ७ करोड २० लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने योजना बनाएको छ ।
कम्पनीले आथिक वर्ष २०७३∕७४ मा ८० करोड रुपैयाँ नाफा गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७४∕७५ मा ९४ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको वित्तीय विवरण अनुसार जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ छ ।