जीडीपीमा सिमेण्टको ६ % योगदान | करीब ८० लाख टन सिमेण्ट खपत
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा महŒवपूर्ण योगदान दिनेमा सिमेण्ट महŒवपूर्ण उद्योग हो । नेपालमा उत्पादन हुने धेरै वस्तु तथा सेवाहरूमध्ये सिमेण्टको हाल नेपालको जीडीपीमा ५ दशमलव ६७ प्रतिशत योगदान छ । नेपालमा सञ्चालित धेरै उद्योगमा ९० प्रतिशतभन्दा बढी कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ । सिमेण्ट त्यस्तो उद्योग हो, जसको उत्पादन गर्न आवश्यक ९० प्रतिशतभन्दा बढी कच्चापदार्थ स्वदेशमै पाइन्छ ।
पछिल्ला वर्षहरूमा नेपाली सिमेण्ट उद्योगमा लगानी बढेसँगै यसको उत्पादनमा समेत वृद्घि भएको छ । नेपाल सिमेण्टमा आत्मनिर्भर भइसकेको सिमेण्ट उत्पादक सङ्घका अध्यक्ष धु्रवराज थापा बताउँछन् । आगामी आवदेखि क्लिङ्करमा समेत आत्मनिर्भर बन्ने थापाले बताए । ‘नेपाली बजारमा खपत हुने क्लिङ्करमध्ये करीब ३० प्रतिशत भारतबाट आयात हुने गरेको छ । नेपाली सिमेण्ट बजार वार्षिक १० देखि १५ प्रतिशत वृद्धि भइरहेको छ,’ उनले भने । नेपाली बजारमा अहिले वार्षिक करीब ८० लाख टन सिमेण्ट खपत हुने गरेको छ । हाल ५० ओटा सिमेण्ट उद्योगले विभिन्न ९० ओटा ब्राण्डमा सिमेण्ट उत्पादन गरिरहेका छन् । केही उद्योग सञ्चालनका लागि पाइपलाइनमा छन् । नयाँ उद्योगले सिमेण्ट उत्पादन गर्न थाले भने नेपालबाट अन्य मुलुकका सिमेण्ट निर्यात गर्न सकिने एशोसिएशनले बताएको छ । कुनै समय बन्द हुने अवस्थामा पुगेका सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेण्ट उद्योगले पनि हाल राम्रो उत्पादन गरिरहेका छन् । साथै, वाणिज्य बैङ्कहरूले पनि चालू आवको असोजसम्म ५ अर्ब ४३ करोड रुपैयाँ सिमेण्टमा लगानी गरेका छन् ।
भूकम्पपछिको पुनर्निर्माण, बढ्दो शहरीकरण, हाइड्रोपावर निर्माणमा तीव्रता तथा आगामी दिनमा हुने सडकको विस्तारका लागि ठूलो मात्रामा सिमेण्टको आवश्यकता पर्ने देखिन्छ । यसै कारण पनि विदेशी कम्पनी ठूलो मात्रामा लगानी लिएर नेपाल आउन लागेको सम्बन्धित उद्योगीहरूले बताएका छन् । सरकारले विस्तारै लोडशेडिङमुक्त देश बनाउने योजना बनाएको छ । जलविद्युत्को उत्पादन बढ्दै गएका कारण विदेशी कम्पनीको नेपालमा चासो बढेकोे छ । जलविद्युत्को उत्पादन बढेसँगै नेपालमा विद्युत् महशुल छिमेकी देशको तुलनामा सस्तो हुने विदेशी कम्पनीको अपेक्षा रहेको व्यवसायीहरू बताउँछन् ।
सिमेण्ट उद्योगले रोजगारी सृजनाका साथै राज्यलाई प्रशस्त राजस्व पनि उपलब्ध गराउँछन् । सिमेण्ट उद्योगमा अहिले पनि करीब २५ हजारले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा लाखौं व्यक्ति उद्योगसँग जोडिएको उद्यमीहरू बताउँछन् । सोही कारण अहिले सिमेण्ट उद्योगमा १ खर्बभन्दा बढी लगानी भइसकेको छ । केही वर्षभित्र नेपालको सिमेण्ट उद्योगमा हालको भन्दा बढी विदेशी लगानी आउने निश्चित भइसकेको छ । चीनको होङ्सी सिमेण्टबाट करीब ३६ अर्ब रूपैयाँ लगानी आइसकेको छ । चीनकै हुजिन सिमेण्ट, अफ्रिकाको डाङ्गोटे र भारतको रिलायन्स सिमेण्टले अबको २ देखि ३ वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढाइरहेका छन् । पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा भएको लगानीमध्ये सबैभन्दा बढी सिमेण्टमा देखिएको छ । अर्घाखाँची, जगदम्बा, कसमसलगायत सिमेण्ट उद्योगले क्षमता अभिवृद्धि गरिरहेका छन् । अन्य केही स्वदेशी सिमेण्ट उद्योगले २० अर्ब रूपैयाँभन्दा बढी लगानी गर्नेगरी परियोजना अघि बढाइसकेका छन् । पछिल्लो समय स्वदेशी र विदेशी दुवै सिमेण्ट उद्योगले लगानी बढाउन थालेका छन् । नेपालमा सिमेण्ट उद्योगको पर्याप्त सम्भावना देखिएका कारण लगानी बढेको व्यवसायीहरूको भनाइ छ ।
गुणस्तर बढाउँदै उद्योग
सिमेण्टको गुणस्तर बढेका कारण ठूला परियोजनामा समेत स्वदेशी सिमेण्टको प्रयोग हुन थालेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले अहिले सिमेण्ट उद्योगलाई ३३ ग्रेडसम्मको मात्रै प्रमाणपत्र दिने गरेको एशोसिएशनका महासचिव डा. ताराप्रसाद पोखरेलले बताए । उच्च गुणस्तरीय सिमेण्टको माग बढेका कारण उद्योगहरूले बढी ग्रेडका सिमेण्ट पनि उत्पादन गर्न थालेका छन् । हाल उद्योगहरूले ठूला परियोजनाका लागि भन्दै ४३ र ५३ ग्रेडको समेत सिमेण्ट उत्पादन गर्न थालेका छन् । विभागले पनि उच्च गुणस्तरका सिमेण्टलाई प्रमाणपत्र दिने तयारी गरिएकोे छ । पछिल्लो समय विभागले सिमेण्टमा गुणस्तर चिन्ह प्रदान गर्न थालेपछि उद्योगबीच गुणस्तर कायम गर्नेमा प्रतिस्पर्धा चलेको छ । एशोसिएशनमा आवद्ध ५२ ओटै सिमेण्ट उद्योगले विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह लिएका छन् ।
सिमेण्टको आयात घट्यो
विगत केही वर्षदेखि नेपालमा सिमेण्टको आयात घट्दै गइरहेको छ । गत आव २०७३÷७४ मा १ अर्ब १४ करोड रुपैयाँबराबरको सिमेण्ट आयात भएको भन्सार विभागको तथ्याङ्क छ । आव २०६८÷६९ मा ३ अर्ब ४७ करोड रुपैयाँबराबरको सिमेण्ट आयात भएको थियो । आव २०६८÷६९ को तुलनामा आव २०७३÷७४ मा २ अर्ब ३३ करोड रुपैयाँ कमको सिमेण्ट आयात भएको देखिन्छ । प्रत्येक आवमा सिमेण्टको आयात घट्दै गइरहेको छ ।
क्लिङ्कर उत्पादन बढ्दै
अहिले दुई तिहाइभन्दा बढी क्लिङ्कर नेपाली उद्योगले धानेका छन् । गत आवमा २४ अर्ब ९६ करोड रुपैयाँको क्लिङ्कर आयात भएको निकासी तथा व्यापार प्रवद्र्धन केन्द्र (टीईपीसी) को तथ्याङ्क छ । क्लिङ्कर उत्पादनका लागि प्रशस्त खानीहरू भए पनि प्रविधि र लगानीको अभावका कारण नेपाल छिमेकी मुलुकबाट ठूलो मात्रामा क्लिङ्कर आयात गर्न बाध्य छ ।
सिमेण्टको आयात
आर्थिक वर्ष | तौल (मे.टनमा) | रकम (रु.अर्बमा) |
२०६८/६९ | ५१४८७९ | ३.४७ |
२०६९/७० | ५०५०२७ | ३.९४ |
२०७०/७१ | ४१११९३ | ३.१८ |
२०७१/७२ | २६४६४९ | २.११ |
२०७२/७३ | २२५२७३ | १.८७ |
२०७३/७४ | १२११०६ | १.१४ |
स्रोत ः व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र तथा भन्सार विभाग
किलिङ्करको आयात
आर्थिक वर्ष | तौल (मे.टनमा) | रकम (रु.अर्बमा) |
२०६८÷६९ | १.०७ (दश लाख) | ६.९ |
२०६९÷७० | ०.९२ (दश लाख) | ५.९९ |
२०७०÷७१ | १.०९ (दश लाख) | ६.५४ |
२०७१÷७२ | १.२३ (दश लाख) | ८.४ |
२०७२÷७३ | १.४७ (दश लाख) | ९.८३ |
२०७३÷७४ | २९.३९ (दश लाख) | २४.९६ |
स्रोत ः व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र तथा भन्सार विभाग