आज एनसेलको लाभकर मुद्दाकोे बृहत्त इजालसले निर्णय दिने |
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादको निर्णय सुनुवाइ आज हुने भएको छ । गत साता समय सारिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा। मनोजकुमार शर्माको पूर्ण इजलासले आजलाई मिति तोकेका थिए ।
यसअघि वैशाख २४ गते सर्वोच्चले पूँजीगत लाभकर असुली प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासले दिएको आदेशलाई निरन्तरता दिएको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई नै निरन्तरता दिएको थियो ।
गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो ।
तिरिसकेको रकम घटाएर बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ ७ दिनभित्र तिर्न वैशाख ३ गते कर निर्धारणको पत्र पठाएको थियो । एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै कर असुली प्रक्रिया यथास्थितिमा राख्न भनेको थियो ।