दशैंका लागि वाणिज्य मन्त्रालयले शुरु गर्यो अनुगमन |
काठमाडौं । चाडपर्व नजिकिएसँगै मूल्य र गुणस्तरमा हुने ठगी रोक्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनलाई तीब्र बनाएको छ ।
चाडपर्वको समयमा दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, तेल, चिनी, मासुजन्य पदार्थ,तरकारी तथा फलफूल लगायतका व्यापारिक क्षेत्रमा मन्त्रालयले अनुगमन शुरु गरेको छ । मन्त्रालयले ठूला मल,फेन्सी लगायतका क्षेत्रमा समेत अनुगमन शुरु गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यो वर्षको चाडपर्वमा उपभोक्तालाई सरकारको अनुभुति दिलाउने दाबी गरे ।
मन्त्रालयले अनुगमनलाई प्रभावकारी बनाउन प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल गरिसकेको छ । दशैं तिहारको समयमा दैनिक उपभोग्य सामाग्रीको अभाव नहुने आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले आपूर्ति अभाव हुँदा मूल्य बढाएर कार्टे्लिङ गर्ने, सिन्डिकेट र कालो बजारीलाई नियन्त्रण गर्ने जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार बजार अनुगमनको लागि तीन वटा समिति बन्ने छ । गत वर्षको कात्तिकबाट लागू भएको ऐनमा अनुगमन समिति सम्बन्धि ऐनको परिच्छेद ७ अन्तर्गत दफा २५ देखि दफा ३७ सम्म व्यवस्था गरेको छ ।
केन्द्रीय बजार अनुगमन समिति, स्थानीय बजार अनुगमन समिति र स्थानीय बजार अनुगमन समिति रहने छ। यी तीनै समितिले जुनसुकै बेला बजार अनुगमन गर्न सक्नेछ । केन्द्रीय अनुगमन समिति वाणिज्य सचिवको संयोजकत्वमा ८ सदस्यीय रहनेछ । वाणिज्य,गृह, कृषि, भूमि मन्त्रालयका सहसचिव र चार विभागका महानिर्देशक सदस्य रहने छन् ।
स्थानीय अनुगमन समिति उपमेयरको संयोजकत्वमा गठन हुनेछ । काठमाडौं महानगरपालिकाले अनुगमन समिति गठन गरे उपमेयर हरिप्रभा खड्कीको नेतृत्वमा अनुगमन समिति बन्नेछ ।
व्यापार गर्ने मूख्य समयमा अनुगमन गर्दा नकारात्मक असर पर्ने गरेको व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुलाई अनुगमनमा खटिएका कर्मचारीहरुले अनावश्यक दुːख मात्रै दिने उनीहरुकको भनाई छ ।