यसरी गरौं वर्षातमा स्वास्थ्यको हेरविचार |
सबैजसो मौसमको आ–आफ्नै विशेषता हुन्छन् । यस्ता विशेषतामध्ये कुनै हाम्रो स्वास्थ्यका लागि अनकूल हुन्छन् त, कुनै प्रतिकूलसमेत हुन्छन् । अहिले वर्षात बढ्दो क्रममा छ । यस्तोमा हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । मौसममा आएको सानो परिवर्तनले पनि स्वास्थ्यमा ठूलै असर पार्न सक्छ । यस्तो अवस्थामा खानपानमा सावधानी अपनाउने हो भने मौसमको आनन्दसँगै स्वस्थ रहन सकिन्छ । वर्षातमा स्वस्थ रहन सघाउने केही आयुर्वेदिक उपाय यहाँ प्रस्तुत गरिएका छन् ː
धेरै चिल्लो खानेकुरा नखानुहोस्
वर्षातका बेला धेरै चिल्लो खानेकुरा नखानुहोस् । धेरै चिल्लो वा मसालेदार खाना खानाले पेटमा ग्यास भरिने समस्या ल्याउँछ । साथै, अचार पनि धेरै खानु हँुदैन । यसले शरीरमा नूनको मात्रा बढाउँछ, जसले अपच, ग्याष्ट्रिक तथा पेट फुल्नेलगायत समस्या आउन सक्छ ।
खुट्टाको हेरविचार गर्नुहोस्
वर्षातको समयमा खुट्टाको पनि ध्यान दिनुपर्ने हुन्छ । वर्षामा बढी मात्रामा खुट्टा पानीले भिज्ने हुनाले लामो समयसम्म चिसो भइरहन्छ, जसले गर्दा इन्फेक्शन हुने डर हुन्छ । यस्तोमा मधुमेहका रोगीहरू झन् बढी सचेत हुनुपर्छ । वर्षाको बेला घरमा पनि सधैं चप्पल लगाउने तथा पाइताला सफा राख्ने गर्नुपर्छ ।
हल्का तथा सुपाच्य खाना खानुहोस्
वर्षातको समयमा हल्का तथा सुपाच्च खाना खानुपर्छ, जसले गर्दा पाचनक्रिया सन्तुलित भइरहन्छ । यस्तो बेला काँक्रो, गाजरलगायत काँचै खान सकिने वस्तुको सेवन पनि बढाउनु राम्रो हुन्छ । त्यस्तै, फर्सी, उमालेको सलाद, ताजा फलफूल, मुङको दाल, खिचडी र मकै पनि स्वास्थ्यवद्र्धक हुन्छन् ।
हरिया पात भएका तरकारीको कम सेवन गर्नुहोस्
वर्षातको समयमा हरियो पात भएका तरकारी बनाउनुअघि त्यसको सफाइमा बढी ध्यान दिनुहोस् । किनकि, यस्तो तरकारीमा फोहोर धेरै हुनुका साथै यो सजिलोसँग पच्दैन । त्यसैले, यस्ता तरकारीको कम सेवन गर्नुहोस् । राम्रो पाचन प्रक्रियाका लागि एक चिम्टी नून, मरिच, हरियो खुर्सानी तथा अदुवालाई पानीमा राखेर तताउनुहोस् । यसरी तयार गरिएको पानी दिनमा एकपटक पिउँदा पाचनक्रिया ठीक रहन्छ ।
हर्बल चिया पिउनुहोस्
हर्बल चियामा एण्टिब्याक्टोरियल तत्व धेरै मात्रामा पाइन्छ, जसले वर्षातको समयमा घाँटीमा हुने समस्याबाट बचाउँछ । यसमा अदुवा राखेको चिया तथा ग्रीन टी सबैभन्दा राम्रो हुन्छ । यसले चिसो मौसममा शरीरलाई न्यानो बनाइराख्छ ।
व्यायाम गर्नुहोस्
वर्षातको समयमा ब्यायाम अवश्य गर्नुहोस् । यसले रक्त सञ्चारलाई दुरुस्त राख्छ । साथै, एसिडिटी तथा ग्याष्ट्रिकको समस्या भएकाहरूले बिहान योगा गर्नु राम्रो हुन्छ । यसले पाचनक्रिया सन्तुलित राख्छ ।
बहिरको खाना नखानुहोस्
वर्षातको मौसममा चटपटे, पानीपुरीलगायत खानेकुराबाट बच्नुपर्छ । यो मौसममा सबैभन्दा धेरै कीटाणु पानीमार्फत फैलिन्छ । त्यसैले, यस्ता खानेकुरा सकेसम्म सेवन नगर्नुहोस् ।