ब्याज अनुदानको ऋण लिएर उद्यम गर्नुस् ː गभर्नर नेपाल |
काठमाडौं । राष्ट्र बैकका बैकका गर्भनर डा. चिरञ्जिबी नेपालले युवाहरुलाई सरकारले दिएको अनुदानमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उत्पादनशील क्षेत्रमा काम गर्न आग्रह गरेका छन्। उनले स्वदेशमा नै उद्यमी भई लाभ लिनसमेत भनेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले पाल्पाको तिनाँउ गाउपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्र डुम्रेमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै गभर्नरले बिदेशमा गएर कमाएको कमाईले अल्पकालीन लाभ देखिएपनि स्वदेशको कमाई दीगो र देशलाई सम्बृद्ध बनाउन महत्वपूर्ण हुने बताए ।
राष्ट्र बैकले लिएको वित्तीय साक्षरता अभियानको नीतिलाई बैंकले कार्यान्वयनमा भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै गभर्नरले समावेशी अर्थतन्त्र निर्माणमा यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उनले नेपालमा उत्पादन गर्न सकिने कृषि तथा कृषीजन्य बस्तु समेत ठूलो मात्रामा आयात भईरहेको बताउँदै युवाहरुले स्वदेशमा नै अवसरको सदुपयोग गरी देशलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए ।
पाल्पा गृह जिल्ला भएका गर्भनर नेपालले पाल्पामा व्यवसायीक तरकारी खेती र पशुपालनको राम्रो सम्भावना भएको उल्लेख गर्र्दै कार्यक्रममा सहभागी महिलाहरुलाई आफ्ना छोरा र श्रीमान्लाई बिदेशमा होइन स्वदेशमा नै काम गरौ भनि उत्प्रेरित गर्न आग्रह गरे । शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो प्राथमिकता नाफा भन्दा सेवा रहेको बताए ।