सामाजिक सञ्जालमा विज्ञापन गर्दा नेपालबाटै पैसा तिर्न सकिने |
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालबाट अनलाइन तथा सामाजिक सञ्जाल विज्ञापन गर्दा भुक्तानीको वैधानिक ढोका खोलिदिने भएको छ ।
मौद्रिक नीतिबाट बैंकले यसका लागि कानुनी व्यवस्था गरिने बताएको छ । सामाजिक सञ्जाल तथा अनलाइनमार्फत् हुने विज्ञापनवापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिने नीति सार्वजनिक गर्ने गभर्नर चिरञ्जीवी नेपालले जानकारी दिए ।
मौद्रिक नीति मार्फत् घोषणा भएको यो नियम यही वर्षभित्रै कार्यान्वयनमा आउने बताइएको छ । हाल नेपालीहरुले व्यक्तिगत तहबाट कुनै पनि वस्तु तथा सेवाको खरदिमा विदेशमा मुद्रामा भुक्तानी गर्न पाउँदैनन्। यही व्यवस्थाका कारण नेपालीहरुले विदेशी च्यानलको प्रयोग गर्ने गरेका छन् ।