ग्लोबल आईएमई लघुवित्तको नाफामा वृद्धि |
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासमा ६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलानमा नाफा ३३३ प्रतिशत बढी हो ।
ग्लाबल आईएमई बैंक लिमिटेडको सहायक कम्पनी रहेको यस कम्पनीले चौथो त्रैमासमा २७८ रुपैयाँ खराब कर्जा संकलन गरेपछि नाफा बढ्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १४८ प्रतिशत बढेर १४ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको सञ्चालन मुनाफा अघिल्लो आवको तुलनामा ३२० प्रतिशत वृद्धि भई १० करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले शतप्रतिशत हकप्रद साउन २१ गतेदेखि जारी गर्दैछ । अघिल्लो आवमा ११ करोड रुपैयाँ रहेको चुक्तापूँजी गत आवको चौथो त्रैमासम्म १८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ८ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६१ दशमलव ६२ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ रहेको छ ।