सबैको लघुवित्तको शेयर बाँडफाँट, साढे ४९ हजारले १० कित्ताका दरले शेयर पाए |
काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर शुक्रवार बाँडफाँट भएको छ । बाँडफाँटमा आवेदन स्वीकृत भएका ४९ हजार ५२५ जनाले १० कित्ताको दरले शेयर पाएको बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलले जनाएको छ ।
संस्थाको निष्कासनमा तीन लाख दुई हजार १९२ जनाको आवेदन परेको थियो । आवेदकमध्ये ५ सय ५४को रद्द भयो भने तीन लाख एक हजार सात सय ३८ आवेदन स्वीकृत भयो।संस्थाको निष्कासनमा ५५ लाख ६९ हजार पाँच सय ८० कित्ताको लागि आवेदन परेकोमा ११ हजार नौ सय ६० कित्ताको आवेदन रद्द भएको छ । बाँकी रहेको ५५ लाख ५७ हजार ६२० कित्ता शेयरको आवेदन स्वीकृत भएको थियो ।
संस्थाले साउन एक गतेदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर निष्कासन गरेको थियो । जसमा आठ हजार दुई सय ५० कित्ता सामूहिक लगानी कोषलाई, २६ हजार पाँच सय कित्ता कर्मचारीलाई छुट्ट्याएर बाँकी रहेको चार लाख ९५ हजार दुई सय ५० कित्ता शेयर सर्वसाधारणको लागि खुला गरिएको थियो ।
तनहुँको बन्दीपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाले कारोबारको तेस्रो वर्षमा प्रवेश गरेको छ भने ३१ वटा शाखाहरूबाट कारोबार गरिरहेको छ।संस्थाको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । प्राथमिक शेयर निष्कासनपछि यसको चूक्ता पुँजी १६ करोड रुपैयाँ नाघ्नेछ ।