खाद्य संस्थान र नेसनल ट्रेडिङ मर्जमा जाने अन्तिम तयारीमा, सुपरमार्केट चलाउने |
काठमाडौं । खाद्य संस्थान र साविकको नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी बन्ने प्रकृया अन्तिम चरणमा पुगेको छ । दुई संस्थानलाई मिलाएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाउन लागिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी दर्ताको प्रकृयालाई अघि बढाएको छ । मन्त्रालयले गत हप्ता कम्पनी रजिष्ट्रारमा पेश गरेको नाममा दाबी विरोध सकिएर नाम टुंगो लागिसकेको छ । खाद्य संस्थानमा सरकारले ९९ करोड शेयर लगानी गरेको छ भने नेसनल ट्रेडिङमा करिब १७ करोड शेयर लगानी गरेको छ । यसरी कम्पनीको चुक्ता पूँजी १ अर्ब १५ करोड ९८ लाख ३० हजार हुनेछ । यस्तै अधिकृत पूँजी ३० अर्ब र जारी पूँजी २० अर्ब रहेको छ ।
कम्पनी गठनका लागि सरकारले सचिव स्तरीय बोर्ड गठन गरेको थियो । बोर्डमा वाणिज्य मन्त्रालय सहित अर्थमन्त्रालय, प्रधानमन्त्री कार्यालयका सचिवहरु रहेका छन्। बोर्डले कम्पनी सञ्चालनको मोडालिटी तयार गरिसकेको छ । कम्पनी कुन मोडेलमा जान्छ भन्ने कुरा टुङगो लागिसकेको छ । दुई संस्थान गाभिएपछि स्वत दुबै संस्थानको सम्पति मिसिनेछ । नेसनल ट्रेडिङका सबै कर्मचारीलाई उपदानसहित विदा गरिसकेको छ ।
आपूर्ति कम्पनीलाई सुपरमार्केट मोडेलमा सञ्चालन गर्ने प्रस्ताव गरेको वाणिज्य सचिव केदारबहादुर अधिकारीले बताए । संस्थानले अहिले खाद्यान्न किन्ने र स्टोर गर्ने काम गरिरहेको छ ।
तर बिक्री भने प्रभावकारी रुपमा गर्न सकेको छैन । संस्थानको बिक्री केन्द्रलाई परिवर्तन गरी निजी क्षेत्रको जस्तै सुपरमार्केटजस्तै बनाइनेछ ।‘खाद्य संस्थानका बिक्री केन्द्र परम्परागत छन्। त्यसलाई परिवर्तन गरेर निजी क्षेत्रको जस्तै आकर्षक बनाइनेछ’ अधिकारीले भने,’अहिले हामीले सस्तोमा गुणस्तरीय खाद्यान्न बेचिरहेका छौं । तर परम्परागत रुपमा चामल र गेडागुडी बेच्दा उपभोक्ता आएका छैनन्। हामीले अब आउटलेटनै आकर्षक बनाइनेछ ।’
नेपाली उत्पादनलाई मात्र कम्प्लेक्समा राखिने सचिव अधिकारीले बताए । कम्पनीले कृषक वा संस्थासँग खाद्य सामाग्री खरिद गर्नेछ । यसरी खरिद गरिएको सामाग्री स्वदेशी उपभोक्ता तथा विदेशमा समेत निर्यात गरिनेछ । यसरी खोलिने आउलेटमा बजार मूल्य भन्दा सस्तोमै खाद्य सामाग्री उपलब्ध हुने सचिव अधिकारीले दाबी गरे ।