एनआरएनएको १२ औं युरोपेली बैठक अगष्टमा हुने |

बार्सिलोना । लगानी र पर्यटन प्रवद्र्धनको लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीमा हुने भएको छ । युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागितामा आगामी अगष्ट ३ र ४ तारिख राजधानी रोममा बैठक हुन लागेको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकको उद्घाटन गर्ने युरोप क्षेत्रीय संयोजक शिवकुमार बरुवालले जानकारी दिए । यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने बताइए पनि उनी भने सहभागी नहुने भएका छन् ।
युरोपमा रहेका एनआरएनहरुलाई गैरआवासीय नेपाली नागरिकताको विषयमा केहि द्विविधा रहेको हुँदा कानूनमन्त्रीकै उपस्थितिमा बैठकमा छुट्टै सेसन चलाउने निर्णय भएको संयोजक बरुवालले बताए । उनले भने, ‘नागरिकता दिने भन्ने संविधानमा उल्लेख छ तर कुन प्रावधानमा के के अधिकारसहित भन्नेबारे गैरआवासीय नेपालीहरु अस्पष्ट छन्। हामी यसबारे यसपटक गम्भीर रूपमा छलफल गर्नेछौं ।’
बैठकमा सहभागी गैरआवासीय नेपालीहरूलाई समृद्ध नेपाल बनाउनका लागि लगानी गर्न प्रेरित गरिने पनि उनले बताए ।
गैरआवासीय नेपाली नागरिकता प्राप्तिपछि लगानीका लागि नेपालको मौजुदा नियम र कानूनकाबारे पनि जानकारी दिने आयोजकको तयारी छ ।
एनआरएनएको १२ औं युरोपेली बैठकमा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष २०२० कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यलगायतको उपस्थितिमा औपचारिक शुभारम्भ गरिने एनआरएन युरोपेली बैठक मूलआयोजक समितिले जनाएको छ । तर चार महिना पहिले पनि पर्यटन बोर्डका कार्यकारी अधिकृतको उपस्थितिमा बर्लिनको लोगेनहाउसमा एक समारोहबीच भ्रमण वर्ष युरोपको उद्घाटन गरिएको थियो ।
एनआरएन युरोप संयोजक बरुवालका अनुसार इटालीका टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक अधिकारी तथा गैरआवासीय नेपालीहरुको उपस्थितिमा भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिनेछ । इटालीका उच्च अधिकारीहरुलाई समेत कार्यक्रममा उपस्थिति गराउने प्रयास थालिएको बरुवालले बताए ।