एनआईसी एशिया ग्रोथ फण्डले गर्यो १० प्रतिशत लाभांश घोषणा |
काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले गत आर्थिक वर्ष २०७५∕७६को नाफाबाट १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिले ईकाइ धनीहरुलाई कर सहित १० प्रतिशतले हुन आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ नगद लाभांस दिने निर्णय गरेको हो ।
फण्डले असारको न्याभ रिपोर्ट सार्वजनिक नगर्दै लाभांश दिने घोषणा गरेको हो । गत जेठ महिनामा फण्डले ८ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । अन्य म्युचुअल फण्ड नोक्सानमा रहेको अवस्थामा एनआईसी एशियाले लाभांश दिने भएको छ ।
गत चैत बैशाखमा शेयर बजार सुधार हुँदा म्युचुअल फण्डले राम्रो नाफा गरेका थिए । घाटामा रहेका कतिपय फण्ड लाभांश दिन योग्य देखिएका हुन्। असार लागेसँगै शेयर बजार पुनः ओरालो झर्दा म्युचुअल फण्डको न्याभ भ्यालु नै तलमाथि हुने गरेको छ ।
यस फण्डले तामाकोशीको प्राथमिक शेयरबाट राम्रो नाफा आर्जन गरेको थियो । प्राथमिक तथा दोस्रो बजारबाट खरिद गरेको ३० हजार कित्ता शेयर बिक्री गरेको देखिन्छ । यसले पनि फण्डको न्याभ भ्यालु बढाउन मद्दत गरेको देखिन्छ ।
फण्डले बैशाखमा ३ हजार कित्ता नागरिक लगानीकोषको शेयर बिक्री गरेको थियो । कोषले चुक्ता पूँजी बढाउने समाचारले दोस्रो बजारमा कोषको बजार मूल्यमा उछाल आएको थियो । यसले गर्दा पनि फण्डको नाफामा मदद्त पुर्याएको देखिन्छ ।
नबिल, एनएमबी बैंक, अपर तामाकोशी, नागरिक लगानीकोष, नेपाल एसबीआई बैंक, चौतारी लघुवित्त जस्ता कम्पनीको शेयर बिक्री गरेर नाफा बुक गरेको देखिन्छ ।
एनआईसी एशिया क्यापिटलको पहिलो फण्डले राम्रो नाफा गरेसँगै दोस्रो योजना एनआईसी एशिया ब्यालेन्स फण्डको सार्वजनिक निष्काशन गरिरहेको छ । फण्डले प्रति इकाई १० रुपैयाँको दरमा १२ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्काशन गरेको हो ।