मासुको भाउ आकासियो, खसीको मासु १३०० र कुखुराको ४३० रुपैयाँसम्म पुग्यो |
काठमाडौं । एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको देखिएको छ । खुद्रा व्यवसायीले धेरै नाफा राखेर बेचेको थोक विक्रेताले आरोप लगाएका छन् ।
काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार थोकमा किन्दा तयारी कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँ पर्छ ।
यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको नेपाल मासु व्यवसायी संघका द्वितीय उपाध्यक्ष उमेश खड्गीले बताए । अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य अचाक्ली बढाइएको बीसीको भनाइ छ । यस्तै, खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको उपाध्यक्ष खड्गीको भनाइ छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको छ । असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो । दोस्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुग्यो । असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको संघले जनाएको छ ।
असार ३० गते कायम भएको तयारी मासुको मूल्य पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । दुई महिनाअघि काभ्रेमा बर्डफ्लूका कारण युवकको मृत्यु भएको समाचार फैलिएपछि किसान डराएर उत्पादन घट्दा मूल्य बढेको संघको भनाइ छ ।
‘चल्लामा लगानी गर्दा बर्डफ्लूले नोक्सानी ब्यहोर्नु पर्ला भनेर लगानी गरेनन्, तर मासुको माग उस्तै रह्यो र उत्पादन घटेपछि स्वभाविकरुपमा मूल्य बढ्यो,’ संघका अध्यक्ष बीसीले भने ।
सरकारले बजेटमार्फत दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा कर लगाएपछि दाना पनि महँगिएको र मूल्यमा असर परेको पनि बीसीले बताए । थोक मूल्य भन्दा २०÷३० रुपैयाँ नाफा खाएर मासु बिक्री गर्न सकिने भए पनि खुद्रामा पनि प्रतिकिलो थप एक सय रुपैयाँ हाराहारी मूल्य बढाइँदा उपभोक्ता झनै मारमा परेको बीसीको तर्क छ ।
मूल्यवृद्धि रोक्न सरकारकाृ पहल
कुखुरा र खसीको मासुमा मूल्य बढाइएको बारे स्पष्ट जवाफ पेश गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीहरुलाई छलफलमा बोलाएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले मासुको मूल्यवृद्धिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए । व्यवसायीले कालोबजारी गरेको पाइए कडा कारबाही गरिने उनले चेतावनी दिए ।