पूँजीगत लाभकरको विवाद दुई दिनमै सल्टाउ ː अर्थ मन्त्रालय |
काठमाडौं । पूँजीगत लाभकरको विवादलाई दुई दिन भित्रै सल्टाउन अर्थमन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राजस्व सचिव लाल शंकर घिमिरेले नेपाल स्टक एक्सचेन्जलाई पूजीगत लाभकरको विवाद दुई दिनमै सल्टाउन निर्देशन दिएका हुन् ।
करको विवाद आए पछि नेपाल पूँजी बजार लगानीकर्ता संघले आइतबार राजस्व सचिव घिमिरेलाई भेट्न पुगेका थिए । भेटमा लगानीकर्तालाई संवोधन गर्दै घिमिरेले यसको विवाद के कसरी समाधान गर्न सकिन्छ भन्दै आवश्यक पहल गर्न नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेलाई टेलिफोन गरेका थिए ।
भारित औषत लागतका आधारमा पूँजीगत लाभकर गणना गर्दा कट अफ डेटको विषयमा केहि कुरा नमिलेको हुँदा मन्त्रालय सँग छलफल गरेर केहि दिनभित्रै यसको विवाद समाधान गर्ने न्यौपानेले बताए ।
पूँजीगत लाभकर गणना गर्दा लगानीकर्तालाई झण्झट भएको भन्दै पूँजी बजार लगानीकर्ता संघ शुक्रबार मन्त्रालय पुगेको थियो। विवाद समाधानको अपिल गर्दै मन्त्रालय पुगेको संघलाई मन्त्रालयले आइतबार बोलाएर छलफल गरेको हो । लगानीकर्ता सँगको छलफलकै क्रममा सचिव घिमिरेले नेप्से अध्यक्षलाई टेलिफोन गरेर विवाद समाधान गर्न निर्देशन दिएका हुन् ।
नेपाल पूँजीबजार लगानीकर्ता संघ सँगै अन्य संघ संस्थाहरु पनि सरोकारवाला निकायमा दवाव दिन गइरहेका छन्। राजस्व विभागले कट अफ डेट तोक्न नमाने पछि अहिलेको अवस्था सिर्जना भएको हो ।