निर्जीवन बीमा कम्पनीलाई बाध्यताकारी मर्ज गर्ने बीमा समितिको तयारी |
काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको पूँजीको तुलनामा व्यवसाय कम देखिएपछि उनीहरुलाई बाध्यताकारी मर्जरमा लैजाने निति लिने भएको छ । मर्जर प्रकृया के कसरी गर्ने भन्ने विषयमा समितिले आन्तरिक रुपमा छलफल गरिरहेको छ ।
साउनमा सबै कम्पनीको वित्तीय विवरण आउने र त्यही विवरण हेरेर समितिले आवश्यक पहल गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।
बीमा कम्पनीले नेपालमा बीमा कम्पनी धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भैरहेको बताउँदै आएका छन्। कतिपय कम्पनीहरुले जोखिमको वास्तविक मूल्यभन्दा कममा बीमा गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको गुनासो गर्दै आएका छन् ।
समितिले एकै पटक संख्या घटाउने गरि फोर्सफुल मर्जरमा लैजाने या अन्य कुनै उपाय अपनाउने भन्ने विषयमा छलफल शुरु गरेको हो । समितिका अध्यक्ष चापागाईले विगत लामो समयदेखि सार्वजनिक कार्यक्रममै क्रस होल्डिङ भएका कम्पनीहरुलाई मर्जमा जान बाध्य पार्ने अभिव्यक्ती दिँदै आएका छन् ।
कम्पनीहरुको क्रस होल्डिङबाट मर्ज सुरु गर्दा केहि कम्पनी तुलनात्मक रुपमा ठूला हुने छन्। कम्पनी ठूलो हुँदै गर्दा प्रतिस्पर्धाका लागि भए पनि बाँकी कम्पनी मर्जमा जाने समितिको आँकलन छ ।