प्यान र ढुवानीमा भ्याट फिर्ता नलिए सरकार विरुद्ध सडकमा उत्रिन्छौ ː अध्यक्ष भवानी राणा |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पारिश्रमिक भूक्तानीमा प्यान अनिवार्य हुनुपर्ने भन्ने समस्या केहि दिनभित्रमा समाधान हुने बताएकी छन् । त्यस्तै ’भेहिकल कन्साइनमेन्ट एन्ड ट्रयाकिङ सिस्टम (भीसीटीएस) को समस्याका बारेमा पनि सरकारसँग निरन्तर छलफल भइरहेको जानकारी दिएकी छन् ।
नयाँ प्रावधानका बारेमा सरकारसित निरन्तर वार्ता भइरहेको जानकारी दिँदै अध्यक्ष राणाले उद्योग, व्यापार र व्यवसायीका हितकालागि महासंघ सडकमा आउन तयार रहेको बताएकी हुन्। मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको आयोजनामा बिहिबार विराटनगरमा भएको भेटघाट तथा छलफल कार्यक्रममा राणाले ‘निजीक्षेत्रले साथ नदिएसम्म सरकारका कुनै पनि नीति र कार्यक्रमहरू सफल हुन सक्तैनन्’, उनले भनिन्, ‘नयाँ प्रावधानले व्यावसायिक क्षेत्रमा उत्पन्न अप्ठेरा र चुनौतीलाई सरकारले बुझ्नै पर्छ ।’
भेहिकल कन्साइनमेन्ट एन्ड ट्रयाकिङ सिस्टम (भीसीटीएस) को समस्या देशभरिबाट आइरहेको चर्चा गर्दै राणाले साना, मझौला र खुद्राव्यापारीलाई भीसीटीएसको अनिवार्यता नभएको स्पष्ट पारिन् । उनले यो सम्बन्धमा राजस्व अनुसन्धान विभागका महानिर्देशक लगायत अन्य अधिकारीसित लगातार कुराकानी भइरहेको बताईन् ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले सरकारले बैङ्किङ प्रणालीबाट प्यान भएकालाई मात्र पारिश्रमिक दिने नियम लगाएकोमा नेपाल र भारत दुबैतिर नागरिक हुननसकेको रोजगारी कुण्ठित गर्ने काम भएको बताए ।
कार्यक्रममा महासङ्घका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरे, व्यापार सङ्घका पूर्व अध्यक्षहरू पवनकुमार शारडा, शङ्करलाल अग्रवाल र खेमचन्द लालबानीले ढुवानीमा भ्याट, भीसीटीएस्, प्यान र बैङ्किङमा आधारित पारिश्रमिक भुक्तानीले निम्त्याएका समस्याका बारेमा बोलेका थिए ।