पूँजीगत लाभकर गणनाले शेयर बजार बढ्ने क्रममा ब्रेक |
काठमाडौं । आर्थिक वर्ष शुरु भएको पहिलो दिन एका एक दोहोरो अंकले सुधार देखिएको बजार बिहीबार २.३७ अंकले घटेको छ । सूचीकृत कम्पनीले केही दिनभित्रमा गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्ने र उनीहरुले कति प्रतिशतसम्म लाभांश बाँड्न सक्छन् भन्ने आँकलन हुँदा बजार सुधार हुने अपेक्षा गरिएको थियो ।
सीडीएससीले साउन एक गतेदेखि पूँजीगत लाभकर गणना गर्दा लगानीकर्ता आफैँले आफुले खरिद गरेको शेयर मूल्य बताउनुपर्ने झण्झटिलो नियम बनाउँदा लगानीकर्ता अन्योलमा परेको शेयर लगानीकर्ता संघले बताएको छ ।
अहिलेको अनलाइन प्रविधिमा लगानीकर्ता ब्रोकरकोमा पुनː जानुपर्ने नियम सान्दर्भिक नभएको लगानीकर्ताहरुको भनाई छ ।
यस अगाडि सरोकारवाला निकायले पूँजीगत लाभकर गणना गर्दा २०७२ साल पुस मसान्तको मूल्यलाई आधार मूल्य मान्ने संझौता भए पनि यसको कार्यान्वयन नभएको बताइएको छ ।
बिहीबार विषयले शेयर बजारलाई असर पारेको हो । बजार ०.१९ प्रतिशतले घटेर १२७२.४९ अंकमा रोकिएको छ । कारोबार शुरु भएको दुई घण्टसम्म बजार लगातार बढिरहेको भएतापनि एक बजेपछि बजार नकारात्मक हुँदा बजार घटेर रोकिएको हो ।
बजार ओरालो झरे पनि ४१ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्तको संस्थापक शेयर ५ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा शिवम सिमेन्टको दुई करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन, फाइनान्स र माइक्रोफाइनान्सको शेयर बढे पनि बाँकी सूचक ओरालो झरेको छ । नेपाल हाइड्रो डेभलपरको सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ ।