पाइपलाइनबाट डिजेल पठाइयो, बेलुकासम्म अमलेखगञ्ज आइपुग्ने |
काठमाडौं । पेट्रोल पाइपलाइनको परीक्षणका लागि बुधबार बिहारको राजधानी पटनाबाट डिजेल नेपाल पठाइएको छ । बिहीबार साँझसम्म अमलेखगन्जमा आइपुग्ने नेपाल आयल निगमले जानकारी दिएको छ । उक्त पाइपलाइनको परीक्षणको गर्न पाइपमा पानी, पाइप सफा गर्नको लागि डिजेल हालेर पठाइएको निगमले बताएको छ ।
अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्यांकी राखिएका छन् । ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुईवटा ट्यांकी रहेका छन् । पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
पाइपलाइनको उद्घाटन साउनको अन्तिमतिर गर्ने तयारी भइरहेको प्रवक्ता गोइतले जानकारी दिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने बताए ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९.५ किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको थियो । मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ । नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.५ किलोमिटर रहेको निगमले बतायो ।