टुटल, पठाओलाई कालो नम्बर प्लेट दिन सुझाव |
काठमाडौं । यातायात व्यवस्था विभागले टुटल, पठाओलेबाट सञ्चालित मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउने प्रस्ताव सरकारसँग गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पेश गरेको प्रस्तावमा राइड सेयर गर्ने टुटल, पठाओद्वारा सञ्चालित मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउन सकिने उल्लेख छ ।
टुटल तथा पठाओले दिइरहेको सेवा गैरकानुनी रहेको भन्दै यसलाई कानुनबमोजिम सञ्चालन गर्न दिन कालो नम्बर प्लेट बनाउन सकिने कार्ययोजना विभागको छ ।
करको दायराभित्र ल्याउन, बीमाको व्यवस्था गर्न, भाडा निर्धारण गर्न पनि विभागले सुझाव दिएको हो । यस्ता मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउनुपर्छ भनेर कानुन संशोधनका लागि भने कुनै प्रस्ताव पेश नभएको मन्त्रालयले जानकारी दिएको छ । राइड सेयर गर्ने मोटरसाइकललाई कालो नम्बर प्लेटको बनाउन नहुने टुटलका सञ्चालक शिक्षित भट्ट बताउँछन् ।
‘यो त घर भाडामा दिन छुट्टै घर नै बनाउनुपर्छ भनेजस्तो भयो,’ उनले भने, ‘यस्तो नियम कार्यान्वयनमा आए काठमाडौंमा झन् मोटरसाइकल संख्या वृद्धि हुन्छ ।’