पहिलो पटक आन्तरिक पर्यटकको सर्वेक्षण गर्ने तयारी |
काठमाडौं । सरकारले पहिलोपटक आन्तरिक पर्यटक सर्वेक्षण गर्ने तयारी गरेको छ । यस सर्वेक्षणबाट नेपालीको घुमफिर संस्कृतिको प्रवृत्ति र उनीहरुले गर्ने खर्चको यथार्थ अवस्था पत्ता लाग्ने सरकारको विश्वास छ ।
राष्ट्रिय योजना आयोगको अभिलेखमा रहने गरी विभिन्न निकायको सहयोगमा आन्तरिक पर्यटक सर्वेक्षण गर्न लागिएको आयोगका सदस्य डा. रामकुमार फुयाँलको भनाई छ । सरकारको आगामी आर्थिक वर्ष २०७६∕७७ को योजना तथा तथ्यांकसम्बन्धी वार्षिक विकास कार्यक्रममा आन्तरिक पर्यटक सर्वेक्षणलाई समेटिएको छ । वार्षिक विकास कार्यक्रममा अवधारणाका रुपमा समेटिएको यो सर्वेक्षण राष्ट्रिय योजना आयोगकै सम्पत्तिका रुपमा रहने छ ।
नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन । सरकारले आगामी आर्थिक वर्षमा तीन राष्ट्रियस्तरका सर्वेक्षण गर्दैछ । त्यसमध्ये आन्तरिक पर्यटकसम्बन्धी सर्वेक्षण पनि एक हो ।
आन्तरिक पर्यटकको सर्वेक्षणबाट पर्यटनमा नेपालको वास्तविक क्षमताको आंकलन हुने आयोगको विश्वास छ । सरकारले १५ औं योजनाको अन्त्यसम्म वार्षिक ३५ लाख पर्यटक नेपाल आउने आंकलन गरेको छ ।
१५ औं पञ्चवर्षिय योजना आगामी आर्थिक वर्षबाटै शुरु हुँदैछ । १५ औं योजनाको पहिलो वर्ष नै नेपालले भ्रमण वर्ष मनाउँदै छ । यस अभियानबाट वार्षिक २० लाख पर्यटक आगमनको वातावरण बन्ने अपेक्षा छ । तर, नेपालले कति पर्यटकलाई एकसाथ सेवा दिन सक्छ भन्ने वास्तविक सर्वेक्षण अहिलेसम्म भएको छैन ।
पछिल्लो समय नेपालमा घुमफिर संस्कृतिको विकास भएको छ । पर्यटकीय मौसममा आन्तरिक पर्यटककै कारण गन्तब्यहरु भरिभराउ हुन्छन् । कालिञ्चोक, रारा, मुक्तिनाथ(कागवेनी, चितवन, पोखराजस्ता गन्तव्य आन्तरिक पर्यटककै कारण निकै व्यस्त हुन्छन् ।
निजी क्षेत्रले लामो समयदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक प्रणाली माग गर्दै आएको थियो । नेपालमा राष्ट्रिय निकुञ्ज, विभिन्न पर्यटकीय तथा सांस्कृतिक सम्पदामा छिर्दा नेपालीको तथ्यांक राख्ने गरिए पनि वार्षिक कति नेपाली घुमघाममा निस्कन्छन् र कति खर्च गर्छन् भन्ने तथ्यांक कुनै पनि निकायसँग छैन ।