सार्क मुलुकभन्दा नेपालमा ब्रोकर कमिसन कम |
काठमाडौं । दक्षिण एशियाली मुलुकका सात राष्ट्रहरुको तुलनामा नेपालको ब्रोकर कमिशन कम रहेको एक तथ्यांक आएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र स्टक ब्रोकर एशोसिएशनले आयोजना गरेको छलफलमा स्टक ब्रोकर एशोसिएशनका पूर्व महासचिव सन्तोष मैनालीले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन ।
उनले पाकिस्तानको ०.२५ प्रतिशत देखि २.५ प्रतिशत , भारतको २.५ प्रतिशत, माल्दिभ्सको १ देखि २ प्रतिशत, भुटानको बढीमा १.५ प्रतिशत, बङ्गलादेशको बढीमा १ प्रतिशत , श्रीलङ्काको बढीमा १.१२ प्रतिशत र नेपालको ०.४ प्रतिशत देखि ०.६ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
पूँजीबजार सम्बन्धी एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम काठमाडौंको कमलपोखरीमा सम्पन्न भएको हो । विभिन्न सञ्चार माध्यममा पूँजीबजारको विकास र विस्तारका लागि समाचार लेख्दै आएका २५ जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रममा मार्जिन कारोबार तथा ब्रोकर कम्पनीहरुको काम र कमिशनको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा ब्रोकरहरुले शुरु गर्न लागेको मार्जिन कारोबारको बारेमा स्टक ब्रोकर एशोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै प्रष्ट पारेका थिए । यो कारोबार सुरु गर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा राफसाफ भण्डारनका लागि आवश्यक पूर्वाधारहरु थप गर्न प्रस्ताव भए बमोजिम काम भईरहेको पूर्वअध्यक्ष रेग्मीले जानकारी गराए ।
पूँजीबजारको विकास र विस्तारका लागि ब्रोकर कम्पनी र पत्रकारहरुविचको सहकार्यलाई मजबुद बनाउन कार्यक्रमको आयोजना गरेको बताउँदै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उल्लेख गरे ।