पहिरोका कारण भोजपुरमा दुई जनाको मृत्यु |
भोजपुर । लगातार परिरहेको पानीका कारण पहिरोमा पुरिएर तथा घर भत्कँदा भोजपुरमा दुई जनाको मृत्यु भएको छ ।
रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको घरमा सुतिरहेको अवस्थामा घर भत्किएर पुरिंदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जानकारी दिएको छ ।
त्यस्तै, टेम्केमैयुङ गाउँपालिका वडा नं. ९ लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।
दुवै घटनास्थलमा प्रहरी टोली परिचालन गरिएर थप अनुसन्धानको काम भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पानी परिरहेकाले भोजपुरमा हवाइ तथा सडक यातायात ठप्प भएको छ । भोजपुर लेगुवा सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको छ । ग्रामीण सडकहरुमा पनि गाडी कुदेका छैनन् । वर्षात्ले जमिनहरु चर्किन, भासिन थालेको साथै खोला नदी बढेकाले विपदको उच्च जोखिम बढेको कारण सतर्क रहन जिल्ला विपद व्यवस्थापन समिति तथा आपतकालीन कार्यसञ्चालन केन्द्रले आग्रह गरेको छ ।
भोजपुर जाने मुख्य सडकमा पाख्रीबास लेगुवा खण्डमा गाडीहरु भासिएर अवरुद्ध भएका छन् । त्यस्तै भैसीपंखाको गजुरमुखी भीरमा माथिबाट पहिरो खस्ने क्रम जारी छ ।