ओमनस्थित दूतावासले पर्यटन वर्ष २०२० का लागि अभियान शुरु |

पर्यटन वर्ष २०२० का लागि ओमनस्थित नेपाली दूतावासले अभियान शुरु गरेको छ । पहिलो चरणमा ओमनस्थित नेपाली दूतावासले खाडीमा रहेका महिलाहरुसँग छलफल शुरु गरेको हो ।
भिजिट नेपाल २०२० मा खाडीबाट पर्यटक भित्र्याउनका लागि छलफल शुरु गरेको राजदुत शर्मिला पराजुली ढकालले जानकारी दिइन् ।
कार्यक्रममा राजदुत ढकालले नेपालको पर्यटन प्रोत्साहनका लागि उनीहरुसँग आग्रह गरेकी थिइन् । ओमनको सडकमा नेपालको पर्यटन झल्काउने होडिङ बोर्ड राख्ने, स्थानीय सवारी साधनमा विज्ञापन राख्ने, ओमनका नागरिकहरुलाई कसरी नेपालमा ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
साथै नेपालमा आउनका लागि ओमनमा भएका होलिडेज कम्पनीहरुसँग समन्वय गरेर प्याकेज बनाउने विषयमा पनि छलफल भएको राजदुत ढकालले बताइन् ।
कार्यक्रममा सगरमाथा चढ्ने ओमनी नागरीक नादिरा अल हरथीलाई प्रंशसापत्रसमेत प्रदान गरेकी थिइन् । पर्यटन वर्ष २०२० सफल पार्नका लागि अन्य पक्षहरुसँग पनि छलफल अघि बढाइने राजदूतावासले जनाएको छ ।