एभरेष्ट होटल सञ्चालनमा आउने, सम्पर्कमा आउन कर्मचारीलाई १५ दिने म्याद |
काठमाडौं । हाल बन्द अवस्थामा रहेको बानेश्वरस्थित होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडले नियमित काममा फर्किन श्रमिकहरुलाई आग्रह गरेको छ ।
सञ्चालनको तयारीमा रहेको होटल एभरेष्टले बुधबार एक सूचना जारी गर्दै आफ्ना सबै कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।
होटलको मानव संशाधन विभागले काममा फर्कन इच्छुक श्रमिकलाई १५ दिनको समयसीमा दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा रोजगारीको ग्यारेन्टी नहुने र सट्टामा नयाँ कर्मचारी भर्ना प्रक्रिया थाल्ने होटल व्यवस्थापनले प्रष्ट पारेको छ ।
लगानीको विषयमा सञ्चालकबीच विवाद भएपछि ११६ कोठा, ३ रेस्टुराँ, १ बार र ३ साना ठूला हल भएको ३६ वर्ष पुरानो होटल ०७२ वैशाख १२ को भूकम्पलगत्तै देखि बन्द छ ।
होटल बन्दपछि रोजगारविहीन श्रमिकले संघर्षसमेत गर्दै आएका थिए । होटल मजदुरको आन्दोलनपछि होटल व्यवस्थापन र संयुक्त संघर्ष समितिबीच ०७५ फागुन १२ गते १२ बुँदे सम्झौता भएको थियो ।
सम्झौतामा बन्द होटल सञ्चालनमा ल्याएर पुरानै श्रमिकलाई फर्काउनेलगायत विषय उल्लेख छ । त्यही सम्झौताअनुरुप होटल सञ्चालनको तयारी तीव्र गतिमा भइरहेको होटल मानव संशाधन तथा प्रशासन निर्देशक नारायण पौडेलले जनाएका छन् ।
एभरेष्ट होटलले जारी गरेको सूचना