नेपाल युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक |
काठमाडौं । आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ को मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहने भएको छ । सम्मेलनमा मुख्य प्रायोजक भएबापत बैंकले आयोजकलाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने गरी मङ्गलवार राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले एक समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सम्मेलन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र बिशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा हुन गइरहेको छ ।
सम्मेलनमा मुख्य प्रायोजन गर्ने सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर गदैं बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वित्तीय साक्षरताका माध्यमबाट युवाहरुलाई उद्यमी बनाउन सकिने र युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराएर मात्र मुलुक समृद्ध बन्न सक्ने कार्यमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । सोही अवसरमा सम्मेलन मुल आयोजक समितिका संयोजक समेत रहेका बिशाल गैरेले सम्मेलनले प्रादेशिक संरचनाभित्र उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटअप कम्पनी र त्यस माथिको लगानीबारे लगानीकर्तासंग छलफल चलाउने र लगानी जुटाइदिने कार्यमा सहयोग पुर्याउने बताए ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने सो सम्मेलनमा उद्यमशीलतामा रुची राख्ने युवा, विद्यार्थीहरु, नयाँ युवा उद्यमीहरु, लगानीकर्ताहरु, बिज्ञ, सरोकारवालासहित देशभरका १६ देखि ४० बर्षभित्रका करिब ३००० युवा उद्यमीहरुको सहभागीता रहने छ ।