सुनुवाइ समितिबाट चार राजदूतको सर्वसम्मत अनुमोदन |
काठमाडौं । संसदीय सुनुवाइ समितिले चार देशमा राजदूत सिफारिस भएकाहरूलाई अनुमोदन गरेको छ । समितिले सोमबार अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका राजदूत सिफारिस भएका चार जनाको सुनुवाइ गरेको थियो ।
समितिले महेशप्रसाद दाहाल (अष्ट्रेलिया), नारद भारद्वज (कतार), दावाफुटी शेर्पा (स्पेन) र वंशिधर मिश्र (बंगलादेश) लाई सर्वसम्मत रूपमा राजदूत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीच भागबन्डामा सरकारले परराष्ट्र सेवा बाहिरका चार जनालाई राजदूत सिफारिस गरिएको थियो ।
राजदूतमा अनुमोदन भएकामध्ये दाहाल चार वर्षअघि नेपाली कांग्रेसको सरकार हुँदा नेपाल टेलिभिजनका अध्यक्ष भएका थिए । सुशील कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले उनलाई एनटीभी अध्यक्ष नियुक्त गरेका थिए ।
गत असोजमा मात्रै पार्टी प्रवेश गरेका उनलाई नेकपाले शक्तिशाली मुलुक अष्ट्रेलियाको राजदूत दिएको छ । २०७५ असोजअघि दाहाल नेपाली कांग्रेसका सक्रिय सदस्य थिए ।
बंगलादेशका लागि राजदुतमा अनुमोदित भएका नेकपाका नेता वंशिधर मिश्र यसअघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भइसकेका छन्। बारम्बार चर्चामा आइरहने मनमोहन मेडिकल कलेजका सञ्चालकमध्येका एक मिश्र राजदूत सिफारिस हुनुमा नेकपा सचिवालय सदस्य माधवकुमार नेपालको भूमिका छ । मिश्रले पूर्व एमालेमा समेत नेपाल खेमाबाट राजनीति गरेका थिए। अहिलेसम्म पनि नेपालको साथ नछोडेका मिश्र भागबन्डा नेपाल पक्षबाट लाभ लिने थोरै नेताहरूमध्ये अग्रपंक्तिमै आउँछन् ।
स्पेनको राजदूतमा अनुमोदन भएकी दावाफुटी शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्ह्यामु शेर्पाकी छोरी हुन् ।
अहिले उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी छन्। पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन् ।
३४ वर्षकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्। नेपालको आन्तरिक र कूटनीतिक मामिलाबारे त्यतिधेरै जानकारी नराख्ने दावाफुटीलाई प्रधानमन्त्री ओलीले आङछिरिङसँगको सम्बन्धका कारण राजदूत सिफारिस गरेको एक नेकपा नेताले बताए ।
कतारका लागि राजदूत अनुमोदीत भएका डाक्टर नारद भारद्धाज झापा आन्दोलनमा परेर ओलीसँगै १२ वर्ष जेल बसेका पूराना कम्युनिष्ट नेता हुन् । नेकपाको विदेश विभाग सदस्य रहेर काम गरिसकेका भारद्धाज अंग्रेजी साहित्यका ज्ञातासमेत हुन् ।
लामो समय प्राध्यापन गरेका भारद्धाजले पोहोरमात्रै त्रिभुवन विश्वविद्यालयबाट सहप्राध्यापकबाट अवकाश लिएका थिए । ओलीको अघिल्लो सरकारले पनि भारद्धाजलाई श्रीलंकाको राजदूतका लागि सिफारिस गरेको थियो । तर संसदीय सुनुवाइ हुनुअघि नै ओली सरकार भंग भएपछि उनी राजदूत हुन पाएनन् ।