क्यानको महानिर्देशकमा राजन पोखरेल नियुक्त |
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा पोखरेललाई महानिर्देशक नियुक्त गरिएको थियो ।
व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) र कानुनमा स्नातक –एलएलबी) गरेका पोखरेल २०४७ सालमा प्राविधिक अधिकृतका रुपमा तत्कालीन हवाई विभागमा प्रवेश गरेका थिए । हवाई विभाग खारेज भइ प्राधिकरण गठन भएपछि उनी प्राधिकरणमा कार्यरत थिए । पोखरेल अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन कार्यक्रमका राष्ट्रिय संयोजका रुपमा पनि कार्यरत थिए ।
प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमको चार वर्षे पदावधि गत जेठ १४ गते सकिएपछि यो पद रिक्त थियो । पोखरेलले आफूसँगैका उपमहानिर्देशकहरु देवानन्द उपाध्याय, नरेन्द्रबहादुर थापा र देवेन्द्र केसी तथा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रमुख राजकुमार क्षेत्रीलाई पछि पारेका छन् ।
प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजना अघि बढिरहेको भन्दै उनले तिनीहरुलाई समयमै सम्पन्न गर्न पनि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । प्राधिरकणअन्तर्गत पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छन् भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको मर्मतको काम अघि बढिरहेको छ ।
पोखरेलले प्राधिकरणको संस्थागत सुधार गरी बलियो नियामकको रुपमा यसलाई स्थापित गर्न आफूले काम गर्ने पनि बताए ।