नेपाल वायुसेवा निगमले असार ३० गतेदेखि काठमाडौं–दिल्ली दैनिक तीन उडान गर्दै |
काठमाडौं । नेपाल वायुसेवा निगमले असार ३० गतेदेखि काठमाडौं–दिल्ली दैनिक तीन उडान गर्ने भएको छ । जेट एयरवेज बन्द भएपछि निगमले काठमाडौं–दिल्लीमा उडान थप गरेको हो ।
निगमका प्रवक्ता नवराज कोइरालाले असार ३० गतेबाट निगमले साताको २१ उडान गर्ने बताए । उनका अनुसार उडानका लागि स्लट अप्रुभ भइसकेको छ । अहिले निगमले दैनिक दुई उडान गर्दै आएको छ । जेट बन्द भएपछि काठमाडौं–दिल्लीको हवाई भाडादर ४० हजार रुपैयाँसम्म पुगेपछि निगमले उडान थपेको हो ।
यसैगरी दुई महिना अघि दैनिक एउटा उडान गर्दै आएको भारतको बजेट वायुसेवा कम्पनी इन्डिगोले जुलाईदेखि दैनिक तीन उडान गर्ने भएको छ । यसअघि कम्पनीले दैनिक दुई उडान गरिरहेको थियो ।
जेट एयरवेज बन्द भएपछि काठमाडौं(दिल्ली उडानका लागि फ्लाइट फ्रिक्वेन्सी बढेपनि डिमाण्ड बढ्दो छ । डिमाण्ड बढेकै कारण भाडादरमा उल्लेख्य परिवर्तन आएको छैन ।
काठमाडौं–दिल्ली उडान गर्दै आएको एयर इण्डियाले भने उडान थप्ने कुनै योजना बनाएको छैन । हाल नेपाल वायुसेवा निगम, इन्डिगो, एयर इण्डिया, ड्रुक एयर, भुटान एयर लगायतले काठमाडौं–दिल्ली उडान गर्दै आएका छन् ।