राजश्व विभागका सबै चेकपोष्ट हटाइद्यै, अनलाइनबाट ढुवानीको निगरानी गरिने |
काठमाडौं । देशभित्र मालसामानको आन्तरिक ओसारपसारको निगरानी अब अनलाइन प्रणालीबाट हुने भएको छ । राजस्व अनुसन्धान विभागले यसका लागि सफ्टवेयर बनाएर कार्यान्वयनको तयारी गरेको हो ।
सफ्टवेयरमा सम्पूर्ण विवरण ‘इन्ट्री’ गरिसकेपछि एक ठाउँबाट हिँडेको सवारीसाधन निर्वाधरुपमा गन्तव्यमा पुग्न सक्नेछ । विभागका अनुसार अब देशभरबाट विभागका चेक पोष्ट हट्नेछन् । विभागको वेवसाइटमा गएर विवरण राख्दा प्राप्त हुने ‘क्यू आर कोड’ का माध्यमबाट उक्त सवारी साधन कहाँबाट छुट्यो, कहाँ पुग्यो र सामान कहाँ झार्यो भन्नेबारे निगरानी गर्न सकिने छ ।
विभागले १ साउनबाट ‘भेइकल एण्ड कनसाइनमेन्ट ट्राकिङ सिस्टम’ कार्यान्वयनमा ल्याउन लागेको हो । सरकारले ०७१ सालमै अनलाइनमा आधारित निगरानी प्रणाली अपनाउने घोषणा गरेको थियो । यसबाहेक जीपीएस जडान गरी सवारी साधनको निगरानी गर्ने घोषणासमेत सोही समयमा भएको थियो । तर, आवश्यक सफ्टवेयर बनाउन नसक्दा घोषणा कार्यान्वयन हुन सकेको थिएन ।
आगामी आर्थिक वर्ष २०७६∕७७ को बजेट भाषणबाटै सरकारले यो योजना कार्यान्वयन गर्ने घोषणा गरेको थियो । सोहीअनुसार सफ्टवेयर बनाएर मालसामान ढुवानी कार्यलाई ‘पेपरलेस’ बनाउने तयारी सरकारले गरेको हो । सरकारले बजेटमा चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई न्यूनीकरण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको श्रृङ्खलालाई ट्र्याकिङ प्रणालीमा आवद्ध गर्ने घोषणा गरेको थियो ।