पोलभाडा सम्झौता गर्न विद्युत प्राधिकरणले निकाल्यो ७ दिने सूचना | सम्झौता नगरे इन्टरनेटको तार काटिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकलाई सात दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी गरेको छ ।
एडीएसएस अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्देशिका २०७३ अनुसार इन्टरनेट, टेलिफोन तथा केबल टीभी सेवा प्रदायकहरुले प्राधिकरणको पोलरटावर प्रयोग गर्न अनिवार्य रुपमा पोलभाडा सम्झौता गर्नुपर्ने उल्लेख छ । अहिले सम्म पनि पोलभाडा सम्झौता नगर्ने सेवा प्रदायकले असार २६ गतेभित्र सम्बन्धित स्थानीय वितरण केन्द्रमा गएर सम्झौता गर्न प्राधिकरणले सूचना जारी गरेको हो ।
सेवा प्रदायकले प्रयोग गर्ने पोलको संख्या, तारको मोटाई (कोर) खुल्ने गरी सेवा सञ्चालनको स्वीकृति लिन र अहिलेसम्म बाँकी रहेको पोलभाडा बुझाउन प्राधिकरणले ताकेता गरेको हो। स्वीकृति नलिइ सेवा दिने कम्पनीलाई नियमअनुसार कारबाही गर्ने प्राधिकरणले उल्लेख गरेको छ ।
गत चैत्र मसान्त सम्म पोलभाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेकोमा एनसेलले मात्र पोलभाडा सम्झौता गरेको थियो । नेपाल टेलिकमले सम्झौताको लागि तयार भएपनि अहिलेसम्म टुंगो भने लागेको छैन । त्यही बेलामा अरु सेवा प्रदायकले भने सम्झौंता नगर्ने अडान राखेका थिए । प्राधिकरणले तार काट्ने चेतावनीपछि इन्टरनेट सेवा प्रदायकको संस्थाले राजनीतिक दबाब सिर्जना गरेपछि यो मुद्दा केही पछि सरेको थियो ।
प्राधिकरणले नयाँ निर्देशिका अनुसार तारको मोटाई अनुसार प्रति किलोमिटर प्रति महिना एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात समय रुपैयाँ सम्म भाडा तय गरेको थियो । सेवा प्रदायक कम्पनीले भने भाडा ५०० प्रतिशतसम्म वृद्धि गरिएको भन्दै तिर्नै नसक्ने दावी गर्दै आएका छन्।